गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबिच पारस्परिक विश्वास, साझेदारी र सहयोगलाई बढावा दिनु सार्कको प्रमुख भूमिका रहेको बताउनुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ४० औँ बडापत्र दिवसको अवसरमा आइतबार शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण, समृद्ध र एकीकृत दक्षिण एसियाको निर्माणका लागि सार्क अध्यक्षको हैसियतमा बडापत्रप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय सङ्गठित अपराधलगायतका सामाजिक–आर्थिक र वातावरणीय चुनौती निरन्तर रहेको औँल्याउँदै यस क्षेत्रका जनताको साझा हित र समृद्धिका लागि सार्कको निरन्तर सक्रियताको प्रक्रियालाई निरन्तरता दिनका लागि सार्क मुलुकलाई आह्वान गर्नुभयो । यस दिवसका अवसरमा यस क्षेत्रका जनता र मुलुकहरूको प्रगतिको कामनासहित उहाँले शुभकामना र बधाई दिनुभएको छ ।
त्यस्तै सार्क बडापत्र दिवसको ४० औँ वर्षगाँठको अवसरमा शुभकामना दिनुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणाले संस्थापक नेताहरूको दृष्टिकोण र सामूहिक आत्मनिर्भरता प्रवर्धनमा सार्क बडापत्रको महत्व रहेको औँल्याउनुभएको छ । यस क्षेत्रका नागरिकको गुणस्तरीय जीवन र साझा चुनौतीको सम्बोधन गर्नुका साथै क्षेत्रीय एकतालाई बढावा दिनु आजको आवश्यकता रहेको उहाँले प्रस्ट पार्नुभएको छ । सार्क बडापत्रमा उल्लिखित पारस्परिक सहमति, सौहार्दताको भावनामा दिगो विकास उद्देश्यहरू पूरा गर्न सार्कलाई पुनर्जीवित र सक्षम बनाउनुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभएको छ ।
पारस्परिक समझदारीमा जोड
सार्कका महासचिव गोलम सरवरले शुभकामना सन्देश दिँदै क्षेत्रीय सहयोग अभिवृद्धि गर्दै शान्ति, स्वतन्त्रता, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पारस्परिक समझदारी, असल छिमेकी सम्बन्ध र सार्थकता बढाएर उत्कृष्ट उपलब्धि हासिल हुँदै आएको बताउनुभएको छ ।
उहाँले दक्षिण एसियाली राष्ट्र ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धका आधारमा सहकार्यमा अग्रसर भइरहेको बताउनुभएको छ । उहाँले गरिबी निवारण, आर्थिक समृद्धि, व्यापार, कृषि, शिक्षा, विज्ञान र प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय जडान, पूर्वाधार विकास, जलवायु परिवर्तन, लगानी, वित्त, सुरक्षा, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आतङ्कवाद र लागुऔषध ओसारपसार नियन्त्रण, नागरिक तहको सम्बन्ध र पर्यटन प्रवर्धनमा अझै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको सन्देश
बडापत्र दिवसका अवसरमा भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्सका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले पनि शुभकामना सन्देशमार्फत सार्क राष्ट्रबिच बलियो सम्बन्ध निर्माण गरी विकास र समुन्नतिमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दिन र बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्रा. मुहम्मद युनुस, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मुइज्जु र विदेशमन्त्री अब्दुल्ला खलिल, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके र प्रधानमन्त्री डा. हरिनी अमारासूर्याले शुभकामना सन्देशमार्फत दक्षिण एसियाली राष्ट्रबिचको सम्बन्धलाई विशिष्ट आयाम दिँदै सार्कलाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ । उहाँहरू पारस्पारिक हित, साझेदारी, शान्ति र विकासमार्फत सार्क राष्ट्रको समुन्नति अघि बढाउनुपर्ने बताउनुभएको छ ।