अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २३ गते । साहित्यिक इतिहासमा विशेष महत्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा गरिएको छ । गल्याङ नगरपालिका –११ दिमीकमा आयोजित कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएको मिलन समिरद्वारा सम्पादन गरिएको ‘ती दिनहरु’ को लोकार्पण गरिएको हो ।
स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रिय स्तरका साहित्यकारमध्ये एक जनालाई नगद राशी २५ हजार ५२५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरी नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष –२०८१ को घोषणा गरिएको थियोे ।
उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्यतीथि अर्थात उहाँको स्मृति दिवसको अवसरमा प्रदान गरिने भएको छ । समारोहमा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्व बारेमा कवि चण्डिकाप्रसाद भट्टराईले चर्चा गर्नुभयो ।
लोकार्पण गरिएको कृतिको सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेद्वारा समिक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे । कार्यक्रममा साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराई, तोरणराज बस्याल, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डेय क्षितिज, प्रेमबन्धु सुवेदी, ढालबहादुर केसी, अनन्त अर्याल, मदनकुमार पौडेल, लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी, लीलाराम ज्ञवालीले रचना वाचन गर्नुभयो ।