• ८ पुस २०८१, सोमबार

पलेँटीमा ‘गजल मुसायरा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २३ गते । 

आँखा जुधाउने पो बानी रहेछ तिम्रो

मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।

गजलकार घनेन्द्र ओझाका यी सेर विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो । विशिष्ट साधक, स्रष्टाहरूको उपस्थितिमा सम्पन्न मुसायरामा अर्का गजलकार तथा गायक लालकाजी श्रेष्ठ, आँचलकुमार शर्माका शब्द मुसायरामा गुन्जिएका थिए । नेपाल गजल प्रतिष्ठानको आयोजनामा शनिबार ‘पलेँटी गजल मुसायरा’ सम्पन्न भएको छ । मुसायरामा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठले चार/चार वटा गजल प्रत्यक्ष गाउनुभयो ।

गायक आफैँले हार्मोनियम बजाउनुभएको थियो भने गितारमा राजकुमार समाल, तबलामा रोशन फुयाँल र बाँसुरीमा धनबहादुर गुरुङले साथ दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रिएसनको सहकार्य रहेको कार्यक्रममा अग्रज गजलकारहरू ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, करुण थापाको उपस्थिति थियो भने अग्रज स्रष्टाहरू डा. विमल कोइराला, एसपी कोइराला, चूडामणि देवकोटा, केशव भट्टराईलगायतको सद्भावपूर्ण सहभागिता थियो । गीतकार, समालोचक प्राडा कृष्णहरि बरालले नेपाली गजल गायनमा यस्ता कार्यक्रमले खुसी थप्ने बताउनुभयो । गजलकार ज्ञानुवाकर पौडेलले गजललाई गायनमा ल्याउने प्रयासको सराहना गर्नुभयो ।

गजलकार घनेन्द्र ओझा र सङ्गीतकार सन्तोष श्रेष्ठले विसं २०८०–२०९० को दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको सन्दर्भ जोड्दै सहजीकरणमा रहनुभएका आँचलकुमार शर्माले अबका दिनमा नियमित यस्ता कार्यक्रम भइरहने जानकारी दिनुभयो ।