गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्दै आएका उद्योग प्रतिष्ठानलाई सम्मान प्रदान गरिएको छ । श्रममन्त्री शरतसिंह भण्डारीले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशबाट एक/एक उद्योग वा प्रतिष्ठानलाई सम्मान प्रदान गर्नुभएको हो ।
सम्मानित हुनेमा कोशी प्रदेशबाट सूर्य नेपाल विराटनगर, मधेश प्रदेश ब्रिटानिया नेपाल वीरगन्ज, बागमती प्रदेश युनिलिभर नेपाल हेटौँडा, गण्डकी प्रदेश सूर्य नेपाल शुक्लागण्डकी रहेको छ । यस्तै लुम्बिनी प्रदेशबाट राज बु्रअरी रामग्राम, कर्णाली प्रदेशबाट सिद्धार्थ शनि रिसोर्ट वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशबाट वेस्टर्न फिड धनगढी सम्मानित भएका छन् । कार्यस्थलमा श्रमिकको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र प्रवर्धन गर्दै कार्यस्थलमा हुने दुर्घटना, स्वास्थ्य जोखिम र कार्यप्रणालीका कारण उत्पन्न हुने समस्याबाट बचाउने उद्देश्यसहित असल अभ्यास गर्नेमध्ये उत्कृष्टलाई मन्त्रालयले सम्मान गर्दै आएको छ ।
विभागका महानिर्देशक अर्जुनप्रसाद भट्टराईले श्रम ऐनमा भएको व्यवस्था अनुसार मर्यादित श्रमको अवधारणाबमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चितको काम गरेका उद्योग प्रतिष्ठानलाई सम्मान गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पारित गरेबमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रत्याभूतिसम्बन्धी महासन्धि १५५ तथा अन्य क्षेत्रगत कानुनले मार्गदर्शन गरेबमोजिम उक्त अधिकार सुनिश्चितका लागि राष्ट्रिय सुरक्षा नीति, २०७६ कार्यान्वयनमा छ ।
व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी ध्वनि र प्रकाश मापदण्ड २०७४, इँटा उद्योगमा काम गर्ने श्रमिकका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी निर्देशिका, २०७४ जस्ता क्षेत्रगत मापदण्ड र निर्देशिकासमेत कार्यान्वयनमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । साथै उहाँले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका विषयमा हालसम्म बनेको नीति नियम, निर्देशिका र मापदण्ड कार्यान्वयन भए÷नभएको विषयमा विभाग र मातहतका कार्यालयबाट नियमित र आकस्मिक अनुगमन गरेर नियम कानुन अनुसार नभएका उद्योग प्रतिष्ठानलाई कारबाही गरेको दाबी गर्नुभयो ।