‘मटिहानी महिमा’ पुस्तकमा चन्द्रशेखर उपाध्यायले उल्लेख गर्नुभए अनुसार विसं १८०१ को ‘विष्णु कुशविर्ता’ नामक पुरस्कारस्वरूप लक्ष्मीनारायण मठलाई जग्गा प्राप्त भएको विषय ताम्रपत्रमा रहेको छ । राय र उपाध्यायले दाबी गर्नुभएको ताम्रपत्र एउटै हो अथवा फरक फरक हो भन्ने विषयमा समेत अध्ययन आवश्यक छ ।
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट सात किलोमिटर पूर्वतिर लागेपछि तीन सय वर्ष पुरानो संस्कृत विद्यालय मटिहानी पुग्न सकिन्छ । सेनकालीन इतिहासको जीवन्त प्रमाणका रूपमा मटिहानीले आफ्नो अस्तित्व बचाइरहेको छ । त्यसैले त इतिहास, संस्कृति र शिक्षाका अनुसन्धानकर्ता मात्रै होइन; पर्यटकलाई समेत मटिहानीले आकर्षित गरिरहेको छ ।
मटिहानीको संस्कृत पाठशाला विसं १७७५ मा लक्ष्मीनारायण मठका महन्त रामदास तस्मैया बाबाका शिष्य जयकृष्ण दासको नेतृत्वमा सुरु भएको बताइन्छ । लक्ष्मीनारायण मठ एवं संस्कृत महाविद्यालय मटिहानीका विषयमा धु्रव रायले ‘नेपाली लोकवार्ता’ पुस्तकमा विसं १७७५ मा गुरुकुलीय पाठशाला सुरु भई २६ वर्षपछि मात्र राज्यबाट मान्यता पाएको उल्लेख गर्नुभएको छ । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (क्याम्पस) का सेवानिवृत्त प्राध्यापक रायका अनुसार विसं १८०१ मा मकवानपुरका सेनवंशी राज्यबाट पाठशालाले मान्यता पाएको हो । मटिहानी मठसम्बन्धी ताम्रपत्रमा रहेको दाबी रायको भए पनि हालसम्म सार्वजनिक हुन सकेको छैन । उहाँका अनुसार ताम्रपत्रमा महन्तहरूबाट स्थापित, सञ्चालित, पोषित र संरक्षित संस्कृत विद्यालयको कीर्तिगाथा उल्लेख छ ।
‘मटिहानी महिमा’ पुस्तकमा चन्द्रशेखर उपाध्यायले उल्लेख गर्नुभए अनुसार विसं १८०१ को ‘विष्णु कुशविर्ता’ नामक पुरस्कारस्वरूप लक्ष्मीनारायण मठलाई जग्गा प्राप्त भएको विषय ताम्रपत्रमा रहेको छ । राय र उपाध्यायले दाबी गर्नुभएको ताम्रपत्र एउटै हो अथवा फरक फरक हो भन्ने विषयमा समेत अध्ययन आवश्यक छ तथापि संस्कृत पाठशाला स्थापना भएको १७७५ सालमा मकवानपुरका राजा माणिक सेन रहेको इतिहासका पुस्तकहरूबाट प्रस्ट हुन्छ । मकवानपुरको चण्डनीमाईमा रहेको एक शिलालेखबाट समेत यो समय पुष्टि हुन्छ ।
लेखक उपाध्यायले मटिहानीस्थित लक्ष्मीनारायण मठ १७५१ सालबाट चर्चामा आएको र १७६६ सालमा राजा माणिक सेनबाट लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण भएको पुस्तकमा उल्लेख गर्नुभएको छ । वीरजा (विग्ही) नदी किनारमा रहेको सिद्धसन्तको आश्रम मकवानी राजाको सहयोगमा पुनर्निर्माण भएपछि मटिहानी मठको नामकरण लक्ष्मीनारायण मठ रहन गएको बताइन्छ ।
लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माणको कथा भने रोचक छ । ‘जनकपुरधाम : ऐतिहासिक एवं आध्यात्मिक दृष्टिकोण’ पुस्तकमा लेखक डा. पुष्पज रायले यो कथा प्रस्तुत गर्नुभएको छ । डा. रायका अनुसार राजा माणिक सेन सिकार गर्न दलबलसहित मटिहानी क्षेत्र पुग्नुभएको थियो । रासन सकिएपछि भोजनको व्यवस्थापनका लागि सिद्धसन्त भक्तराम दाससँग आग्रह गर्नुभयो । बाबा भक्तराम तस्मै (धेरै दुधमा थोरै चामल राखेर बनाइने खिर) मात्र खाएर लक्ष्मीनारायणको ध्यान गर्नुहुन्थ्यो । उहाँको दिनचर्या भजन र तस्मैको भोजन मात्र थियो । राजाको आदेश अथवा आग्रह मानेर सिद्धसन्तले एउटै भाँडोमा बनाइएको तस्मैबाट सम्पूर्ण सैनिक तथा राजाको भोक शान्त पार्नुभयो । बाबा भक्तरामको चमत्कार देखेर राजा माणिक सेनले मटिहानीमा लक्ष्मीनारायणको मन्दिर पुनर्निर्माण गराउनुभयो ।
गोरखापत्र दैनिकमा २०७८ साल असार २३ गते बुधबार प्रकाशित रिपेश दाहालको ‘मकवानपुरका सेन राजाहरूको दुई सय नौ वर्षको इतिहासको खोजी भएन’ शीर्षक लेखमा बाबु शुभ सेन जीवित रहेकै अवस्थामा माणिक सेन राजा भएका र उनका भाउजू राजेश्वरी (इन्द्रसेनकी पत्नी) को नायबी शासन रहेको उल्लेख छ । विसं १७७४ बाट उनी सर्वेसर्वा भएका थिए ।
माणिक सेनका जेठा छोरा राजा हेमकर्ण सेन १७९० सालमा गद्दीमा आसीन भएपछि तमसैया भक्तराम दासलाई १८०१ सालमा ‘विष्णु प्रीतिकुशविर्ता’ ताम्रपत्र प्राप्त भएको विभिन्न पुस्तक तथा अध्ययनले देखाए पनि सक्कल प्रमाणको अभाव छ ।
लेखक उपाध्यायले विसं १८०३ र १८०४ को लालमोहर, भोटु पाण्डेको ताम्रपत्र, कुवा स्थानको ताम्रपत्र तथा राजा हेमकर्णको विसं १८१० को सनद सवालमा मटिहानी मठसँग विवाद नगर्न आदेश दिएको आफ्नो पुस्तकमा चर्चा गर्नुभएको छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले विसं १८१९ मा मकवानपुर राज्यलाई अधीनमा लिएपछि पाठशालालाई शाहवंशीय राजा र त्यसपछि राणाकालीन समयमा प्रधानमन्त्रीहरूले संरक्षकत्व प्रदान गर्दै आएको पाइन्छ । डेभिड तथा सिमनले सम्पादन गरी सन् १९८७ मा प्रकाशित ‘रिचुअल्स अफ रोयल्टी : पावर एन्ड सेरेमोनियल इन ट्रेडिस्नल सोसाइटिज’ पुस्तकमा राजा रणबहादुर शाहले लालमोहरमार्फत मुस्लिम फकिरलाई काठमाडौँ उपत्यकामा फकिर घाँसी तथा वैष्णव सम्प्रदायलाई मटिहानी मठको लालमोहर दिएको उल्लेख छ । राजा जयप्रकाश मल्लकै पालादेखि फकिरको मातहतमा फकिर घाँसी र सेनवंशी राजाकै पालादेखि वैष्णव सम्प्रदायको मातहतमा मटिहानी रहेकाले शाहवंशीय राजाले निरन्तरता दिएको आधार प्रस्ट छ ।
मटिहानी पाठशाला स्थापनाको १२५ वर्षसम्म यहाँ धेरै विद्यार्थीले अध्ययन गरेका थिए । त्यस कालखण्डमा अध्ययन गरेका विद्यार्थीबारे पाठशालाले जानकारी सङ्कलन गरेर राख्न नसके पनि बालागुरु षडानन्द अधिकारीको अहिलेसम्म चर्चा हुने गर्छ ।
विसं १९०० देखि १० वर्षसम्म अधिकारीले यहाँ अध्ययन गर्नुभएको थियो । प्राध्यापक रायका अनुसार बालागुरुको पालासम्म संस्कृत पाठशालामा वेद र व्याकरण मात्र पढाइ हुन्थ्यो । ज्योतिष र न्याय विषयको पठनपाठन १९६८ सालबाट मात्र सुरु भएको थियो । लक्ष्मीनारायण मठमार्फत नै पाठशाला सञ्चालन भइरहेकोमा १९६८ साल पुस २९ गते ५४ वटुकका लागि छात्रावासको व्यवस्था गरिएको थियो । राजा त्रिभुवनले वार्षिक ४१५० भारतीय रुपियाँ आम्दानी आउने महोत्तरीकै खेस्रहा गाउँको जग्गा उपलब्ध गराएको सन् १९७५ मा प्रकाशित ‘रेग्मी रिसर्च सिरिज’ मा उल्लेख छ । छात्रावास सञ्चालनका लागि खेस्रहा गाउँको कति बिघा जग्गा उपलब्ध गराइएको हो, त्यसबारे ठोस प्रमाण अहिलेसम्म भेटिएको छैन ।
विसं २००३ सम्ममा वेद, व्याकरण, ज्योतिष र न्यायका लागि चार विभाग र चार शिक्षक कायम थियो । राणकालीन सत्ता व्यवस्था परिवर्तनपछि २००८ सालमा राजकीय संस्कृत प्रधान पाठशाला नामकरण हुन पुग्यो; जहाँ आचार्यसम्मको पढाइ हुन्थ्यो । प्रधानाध्यापकको जिम्मेवारी शिवशङ्कर झालाई दिइएको थियो । तत्कालीन सरकारी कानुन अनुसार २०२५ सालमा माध्यमिक तहसम्म मात्र पढाउनुपर्ने नियम बन्यो । सोही समयमा लक्ष्मीनारायण मठका मानमहन्थ कौशलकिशोर दासको संरक्षकत्वमा निजी स्रोतबाट लक्ष्मीनारायण महाविद्यालय स्थापना गरिएको थियो । त्यसपछि निजी स्रोतबाट पाठशालामा आचार्यसम्मको पढाइ हुन थालेको थियो ।
नयाँ शिक्षा योजना अनुरूप एउटा अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान भएपछि जनकपुरमा निजी स्रोतबाट सञ्चालित याज्ञवल्क्य महाविद्यालयलाई मटिहानीस्थित लक्ष्मीनारायण महाविद्यालयमा गाभेर २०३० सालबाट छुट्टै भवनमा क्याम्पस सञ्चालन हुन थालेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेकोमा २०४३ सालबाट महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पसका रूपमा रहेको छ । यस विद्यापीठमा शास्त्री (स्नातक) र आचार्य (स्नाकोत्तर) तहसम्मको पठनपाठन हुन्छ ।
विद्यापीठमा खडा गरिएको स्तम्भमा लक्ष्मीनारायणसँगै याज्ञवल्क्यको प्रतिमा राखिएको छ । नजिकै स्तम्भलेखन राखिए पनि पढ्न सकिने अवस्थामा छैन । मटिहानीको संस्कृत पाठशाला तथा तत्कालीन समयमा त्यसको सञ्चालन तथा व्यवस्थापन गर्ने लक्ष्मीनारायण मठ तथा मठाधीशबारे बृहत् अध्ययन आवश्यक छ ।
याज्ञवल्क्यलाई महर्षि भनेरसमेत सम्बोधन गरिन्छ । शताब्दीपुरुष सत्यमोहन जोशीले ‘महर्षि याज्ञवल्क्य’ पुस्तकसमेत लेख्नुभएको छ । विदेहराज जनकको समयमा शास्त्रार्थमा अब्बल मानिने याज्ञवल्क्य ब्रह्माको अवतार रहेको तथा सूर्यदेवसँग ज्ञान प्राप्त गरेको मान्यता राखिन्छ । उहाँले बृहदारण्यक उपनिषद्, शुक्ल यजुर्वेद संहिता, याज्ञवल्क्य स्मृति, याज्ञवल्क्य शिक्षा, प्रतिज्ञा सूत्र, सतपथ ब्राह्मण, योगशास्त्रसहितका ग्रन्थ रचना गर्नुभएको बताइन्छ ।
महिटानीमा धार्मिक तथा पुरातात्त्विक सम्पदासमेत छन् । लक्ष्मीनारायण मठसँगै जलेश्वर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मात्र नभई हुलाक टिकट, नोट तथा सिक्कामा तस्बिर ल्याउन स्थानीय र प्रदेश सरकारको पहल आवश्यक रहेको फोटोपत्रकार विश्वनाथ साह बताउनुहुन्छ ।
त्रेतायुगमा विवाहको वेदी बनाउन माटो लगिएको ठाउँ भएकाले मृतखनीबाट मटिहानी हुन पुगेको साहको भनाइ छ । जनकपुरधामबाट प्रत्येक वर्ष मटिहानीमा मटकोर कार्यक्रम हुनुपर्ने धारणा उहाँको छ । रामजानकी विवाहपञ्चमीका अधिकांश कार्यक्रम अहिले जनकपुरधामकेन्द्रित भएकाले मटिहानी र जलेश्वरका बासिन्दाको चित्तदुःखाइ स्वाभाविक पनि हो । महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको जलेश्वर महादेव मन्दिरको दर्शन गर्न आउनेका लागि सात किलोमिटर मात्र टाढा रहेको पुरानो संस्कृत पाठशाला तथा बालागुरु षडानन्दले अध्ययन गर्नुभएको ठाउँबारे जानकारी दिने बोर्डहरू राखिनुपर्ने साह बताउनुहुन्छ ।
जलेश्वर महादेव मन्दिरमा यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रका तस्बिर, होर्डिङ बोर्ड तथा सूचना केन्द्र नरहेकाले मन्दिरका पुजारी उपेन्द्र पाठक तथा स्थानीय व्यवसायीसँग पर्यटकले सोधपुछ गर्नुपर्ने अवस्था छ ।
पुरानो वैष्णव मठ
मटिहानीमा रामानन्दीय सम्प्रदायका मुख्य तीर्थस्थलका रूपमा वैष्णव मठ रहेको छ । यो नेपालकै पुरानो वैष्णव मठ मानिन्छ । मठभित्र लक्ष्मीनारायण मन्दिर छ । यस मठको स्थापना तस्मैया बाबाले विसं १७५१ तिर गर्नुभएको बताइन्छ । जनकपुरका जानकी मन्दिर, राममन्दिर, रत्नसागर मठ, बसहिया मठलगायत मठका महन्तको ‘पगरी’ दिने अधिकार यसै मठका महन्तलाई छ । महन्तलाई जिम्मेवारी तथा अधिकार दिने कार्यलाई ‘पगरी’ दिने भनिन्छ । त्यसैले यस मठका महन्तलाई ‘मानमहन्त’ समेत भनिन्छ । वैष्णव मठका ‘मानमहन्त’ ले ‘पगरी’ लगाइदिएपछि मात्रै धनुषा र महोत्तरीका मठमन्दिरका महन्तले वैधता पाउने व्यवस्था छ ।
मठपरिसरमा लक्ष्मीनारायणको मन्दिर र दरबार निर्माण गरिएको छ । लक्ष्मीनारायण दरबार १५ बिघा क्षेत्रफलमा फैलिएको छ । मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय बिघा जग्गा दान गर्नुभएको इतिहासमा पाइन्छ । त्यसमध्ये झन्डै चार सय बिघा जग्गा गुठी संस्थानले बिक्री गरिसकेको बताइन्छ । ३८४ बिघा अझै बाँकी रहे पनि त्यसको संरक्षणमा निकै चुनौती रहेको छ । मटिहानी मन्दिरको नाममा धनुषा फुलगामामा १३२ बिघा, कजरारमौलमा ३४ बिघा, सपहीमा ४३ बिघा, उमाप्रेमपुरमा १९ बिघा, महोत्तरी मझौरा बिसनपुरमा आठ बिघा, धिरापुरमा ५५ बिघा, मटिहानीमा ६० बिघा र जाउखमा २७ बिघा जग्गा रहेको बताइन्छ । तीमध्ये १७५ बिघा जग्गा अतिक्रमण भइसकेको छ ।
तस्मैया बाबालाई हरेक साँझ बिछ्यौना
ईश्वरी पौडेल
प्रधानाध्यापक, राजकीय संस्कृत माध्यमिक विद्यालय
यो विद्यालयमा अहिले कक्षा ८ देखि १२ सम्म पढाइ हुन्छ । यो पाठशाला हरेक धर्म तथा जातिका विद्यार्थीका लागि निःशुल्क छ । छात्रावासको समेत व्यवस्था छ । यसको स्थापनासँग सम्बन्धित प्रमाण मठसँग नै होला । विद्यालयसँग रहेका पुराना कागजातसमेत नष्ट भएको छ । पुराना पाठशाला भवन क्षतिग्रस्त भएका बेला बर्सातले ती कागजात क्षतिग्रस्त भएको हुन सक्छ ।
अहिले पाठशालाको भवन जीर्णोद्धार हुनुका साथै नयाँ भवन तथा भोजनालय निर्माण गरिएको छ । यो भवन निर्माण हुनुमा सङ्घीय, प्रदेश र मटिहानी नगरपालिकासँगै नेपाली सेनाको पनि सहयोग छ । यो १५ कट्ठामा फैलिएको छ । गुरुकुलीय परम्परा अनुसार नै अहिले पनि विद्यार्थीको पठनपाठन हुन्छ । यहाँबाट उत्तीर्ण भएका दलित र मुस्लिम समुदायका विद्यार्थीले आफ्नो क्षेत्रमा राम्रै गरेका छन् । यो पाठशाला स्थापनामा सेनवंशी राजा, तस्मैया बाबा राम दास तथा व्याकरणका विद्वान् गुरु जयकृष्ण दासको महत्वपूर्ण योगदान छ । अहिलेको समयसम्म जीवन्त हुनुमा शाहवंशीय र राणा प्रधानमन्त्रीको पनि योगदान छ । यो पाठशाला निरन्तर सञ्चालन हुनुले राणाहरू संस्कृत शिक्षाका समर्थक थिए जस्तो पनि देखिन्छ ।
यस पाठशालामा पढेकाहरू देशका विभिन्न स्थान तथा क्षेत्रमा कार्यरत छन् । मुस्लिम धर्मका पिरबाबाले मुसाले बिरालोमाथि विजय प्राप्त गरेको स्थानमा आश्रम बनाउन सल्लाह दिएका कारण तस्मैया बाबाले वीरजा (हालको बिग्ही) नदीको किनारमा खन्ती गाडेर आश्रम बनाएको बताइन्छ । सेनवंशी राजा माणिक सेनले लक्ष्मीनारायणको मन्दिर पुनर्निर्माण गराएपछि नजिककै तलाउमा भेटिएको मूर्ति सोही स्थानमा स्थापना भएको इतिहास पाइन्छ । मटिहानीमा लक्ष्मीनारायण मठ, जलेश्वरमा महादेव मठ तथा जनकपुरमा रामजानकी मठ (हालको राममन्दिर) एकैसाथ जीर्णोद्धार भएको मानिन्छ । मटिहानी मठनजिकै सिमरदही मठ पनि छ । त्यहाँ पनि रामजानकी मन्दिर छ । अरू ठाउँमा पठनपाठन भए नभएको कुनै ठोस प्रमाण नरहे पनि मटिहानीमा विसं १७७५ देखि निरन्तर संस्कृत पाठशाला सञ्चालनमा छ । लक्ष्मीनारायण मठमा तस्मैया बाबाले खन्ती गाडेको ठाउँमा हरेक दिन ओछ्यान लगाउनुपर्ने परम्परा छ । उहाँले हरेक रात यसै स्थानमा विश्राम गर्नुहुने मान्यता छ ।
मटिहानीमा याज्ञवल्क्य लक्ष्मीनारायण पाठशाला रहे पनि पुराना संस्कृत पाठशालाको स्वामित्व राजकीय संस्कृत विद्यालयसँग छ । सोही कारण पनि देशविदेशका पर्यटक यो पाठशालाको भ्रमण र अवलोकनका लागि आउने गर्छन् ।