• १० पुस २०८१, बुधबार

स्मृतिलोकमा विचरण : फर्कलान् र ती दिन

blog

वास्तवमा कल्पनाशील समय भनेको त्यहीबेला हुन्थ्यो । राम्रोसँग लेख्न जान्ने बेला अलि भएको थिएन तर गुरुको सङ्गतले पढेका कथा, कविता र उपन्यासले एउटा कल्पना यस्तो गर्ने बानी बस्यो कि जेमा पनि एउटा नायक हुने भयो, नायिका हुने भई र आफूलाई केन्द्रमा राखेर कथा तयार हुन्थ्यो । एकछिनमा अनि एकछिनमा नै बिर्सने पनि । एकछिनअघि के के कल्पना गरिएको थियो, त्यो बडो मुस्किलले मात्र केही क्षणपछि सम्झने गरिन्थ्यो ।

पूर्व २ नम्बर ग्वाल्टारमा चतुर्मासामा (हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको अवधि) पुराण लगाउने चलन थियो । ६० वर्षपहिलेको कुरा हो । म त्यस्तै नौ/दस वर्षको बेला । सायद कक्षा ४/५ कक्षामा पढ्थे । गाउँमा पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी । 

त्यस क्षेत्रमा त्योबेला चर्चित युवा नेता थिए नवराज सुवेदी । गुरु साम्बभक्त सुवेदीका दोस्रो छोरा, जसलाई लोकले माहिलो मान्यो तर उहाँ आफ्नी माता गोमाका तर्फबाट पहिलो । गुरुले गोमाको छोरो भएकाले होला नवराज नाम राखेको । स्वस्थानीमा पनि नवराजको चर्चा आउँछ । हात्तीले माला लगाएर राजा बनाएको । 

पण्डित साम्बभक्त गुरु ग्वाल्टारमा पुराण भन्न आउनुभएको थियो । उहाँले हामी उत्तर बाल्यावस्थाका बालकलाई पढ्ने बानीको विकास गर्नुभएको थियो । उहाँ सबैसँग मिल्ने स्वभावको । हामी केटाकेटी उहाँसँग झ्याम्मिन्थ्यौँ किनभने पण्डित साम्बभक्त कुनै लोभ नगरी पुराणमा चढाएको नैवेद्य वा प्रसाद उठाएर हातमा जे आयो, त्यही दिनुहुन्थ्यो । अझ केटाकेटीलाई सिङ्गै फलफूल दिनुहुन्थ्यो, जुन अरू पण्डितले त्यसो गर्दैनथे । 

साम्बभक्तको ससुराली ग्वाल्टारको प्रतिष्ठित बराल परिवारमा थियो । त्यतातिर आउँदा सकेसम्म ससुरालीमा बस्नु नपरोस् भन्ने गुरुको चाहना रहन्थ्यो तर मुखले त्यसो भनेर कसैलाई चिढाउने विचारमा गुरु हुनुहुन्नथ्यो । उहाँको यस्तो धारणा हुन्थ्यो भन्ने कुरा पछि उहाँसँगको लामो सङ्गतले थाहा पाइयो । 

ग्वाल्टारका प्रायः गृहिणी साम्बभक्तका छोरा नवराज जस्तो छोरो होस् भनेर पढ्नका लागि उत्प्रेरित गर्थे, जस्तो कि मेरी आमाको चाहना पनि त्यस्तै थियो । 

सामान्य अक्षर चिनेकालाई समेत कथा, उपन्यास पढ्नका लागि साम्बभक्त गुरुले प्रेरणा दिनुहुन्थ्यो र प्रत्येक पढन्तेलाई कल्पनाशील बनाउने खुराक उहाँ आफैँ दिनुहुन्थ्यो, आफूसँग भएका पुस्तक पढ्न दिएर । पढ्न दिने, पढेको÷नपढेको अनुगमन गर्ने अनि के कुरा कसरी बुझेको हो ? भन्न लगाउने । अनि लेख्नका लागि समेत उत्प्रेरित गर्ने । आफैँ कविता लेखेर दिने । उहाँको संस्कृत र नेपालीमा बराबर हात चल्थ्यो । अझ संस्कृतमा सिद्धहस्त भन्थे, अरू विद्वान् पछि पनि । 

सायद चतुर्मासामा भनिने पुराणमा त्यो वर्ष महाभारतको वनपर्व थियो कि जस्तो लाग्छ किनभने महाभारतको पाठ र अर्थ दुई/तीन वर्षदेखि चलेको थियो क्यारे हाम्रो गाउँमा । कहिले ज्वालाप्रसाद कोइराला घ्याम्पाका गुरुले पुराण भन्नुहुन्थ्यो । कहिले यज्ञेश्वर कोइरालाले त कहिले कुन पण्डितले । मलाई अहिले पनि याद आएको ज्वाला पण्डित बा, गुरु र यज्ञेश्वर पण्डित बा जसलाई हामी कान्छाबा भन्थ्यौँ । 

गुरुको बानी अचम्मको थियो, पाठ गर्दागर्दै नै थाहा हुन्थ्यो कथा कस्तो छ भन्ने । गुरु हाँस्नुहुन्थ्यो, रुनुहुन्थ्यो, गम्भीर हुनुहुन्थ्यो र वरिपरि हेरेर लजाउनुहुन्थ्यो । त्यसले कथाको अवस्थालाई जानकारी दिएको मान्नुपर्ने हुन्थ्यो । छिटो छिटो पढ्ने भएकाले पाना त फटाफट पल्टिएको देखिन्थ्यो । साह्रै ठुलो विद्वान् भनेर भन्थे तर कुनै घमण्ड थिएन, कुनै तामस थिएन र सधैँ हाँसिरहने, रमाइलो कुरा गरिरहनुपर्ने । जे कुराको पनि उत्तर उहाँसँग थियो भन्ने बुझिन्थ्यो । हाम्रो भेगका नाम चलेका विद्वान् पण्डित दिव्यदेव कोइराला, पण्डित कुलचन्द्र कोइराला, पण्डित यज्ञेश्वर कोइराला, पण्डित लक्ष्मीप्रसाद कोइराला सबै नै उहाँका शिष्य हुनुहुन्थ्यो । अरू सबैले उहाँलाई गुरु नै भनेर सम्बोधन गर्थे र हामी ससाना उत्तर बाल्यावस्थाका बालक पनि उहाँलाई गुरु, गुरुबा, गुरुबाजे भनेर आदरसाथ भन्थ्यौँ ।

उहाँबाट परेको प्रभावले ममा देखिएको परिवर्तनलाई यतिबेला समीक्षा गर्न खोज्दै छु । उहाँलाई आशुतोष भगवान्सँग तुलना गर्नु मनासिब हुन्छ । नाम पनि साम्बभक्त । सबैलाई माया गर्ने । लोभ भनेको पटक्कै केही नभएको । एकप्रकारले जोगी जस्तै, जब रिसाउनुहुन्थ्यो, उहाँको रूप निकै डरलाग्दो देखिन्थ्यो तर तत्काल रिस साम्य हुन्थ्यो । 

मलाई र म जस्ता समवयी तर पढ्न चाहनेलाई पठन संस्कृतिको सुरुवात गर्नुभएको थियो गुरुले । उहाँले कक्षा ४ मा पढ्दा नै सरदार रुद्रराज पाण्डे लिखित नेपाली भाषाको पहिलो उपन्यास रूपमती पढाउनुभयो । हिन्दी पढ्न सिकाउनुभयो । हेनरी राइडर ह्यागर्डको सी उपन्यासको नेपाली अनुवाद पढाउनुभयो । त्यस्तो धेरै पुस्तक पढाउनुभयो, जुन उहाँका पुस्तकालयमा थिए । त्यसले के बानी बसायो भने एकान्तमा बसेर पढ्ने र कल्पनाशील बनाउने आफैँमा । हाम्रो गाउँमा त्यसबेला शौचालय खुला ठाउँमा हुन्थ्यो । यसो बाँसघारी या सेउलाले छेक्ने गरी बस्ने । पानी लिएर जानुपथ्र्यो । व्रतबन्ध गरेकाले शौच गर्दा जनै कानमा बेर्नुपथ्र्यो । 

वास्तवमा कल्पनाशील समय भनेको त्यहीबेला हुन्थ्यो । राम्रोसँग लेख्न जान्ने बेला अलि भएको थिएन तर गुरुको सङ्गतले पढेका कथा, कविता र उपन्यासले एउटा कल्पना यस्तो गर्ने बानी बस्यो कि जेमा पनि एउटा नायक हुने भयो, नायिका हुने भई र आफूलाई केन्द्रमा राखेर कथा तयार हुन्थ्यो । एकछिनमा अनि एकछिनमा नै बिर्सने पनि । एकछिन अघि के के कल्पना गरिएको थियो, त्यो बडो मुस्किलले मात्र केही क्षणपछि सम्झने गरिन्थ्यो । अहिले पनि बाटामा हिँड्दा या यातायातका साधनमा बस्दा जुन कल्पना गरिएको हुन्छ, कथाको, कविताको, ती एकछिनमा कता पर्छन् कता । झन् त्योबेलामा त कुनै स्थिर तर्क पनि थिएन । तर्कका लागि कुनै आधार पनि थिएन तर पनि गुरुले दिएका पुस्तक र मानवीय स्वभावमा देखिने विभिन्न कल्पनाले बाटो देखाउन थालेका थिए । त्यस्तो बेलामा एक्लै बस्न मन पराइने रहेछ किनभने कल्पनामा कतैबाट भाँजो नपरोस् भनेर ।

महाभारतको कथा सुनिन्थ्यो झल्याकझुलुक । कहिले त पलेँटी मारेर सुनिन्थ्यो कथा । कथाका पात्र हुन्थे भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, शकुनी, धृतराष्ट्र, गान्धारी, कुन्ती, द्रौपदी आदि । पात्र वीर र सहनशील हुन्थे कुनै । कुनै दम्भी र घमण्डी हुन्थे । गुरुको भनाइले नै कुन पात्रलाई सम्मान गर्नुपर्ने या तिरस्कार गर्नुपर्ने थाहा हुन्थ्यो । व्यास, कृष्ण र विदुरप्रति गुरुको सम्मान आवाजले नै देखाउँथ्यो । उदाहरणले यसरी कथाको अर्थ लगाउनुहुन्थ्यो कि कथा सुन्ने कुनै हल्लाखल्ला नगरी बस्थे अनि माता बत्ती कात्ने, दुनाटपरी गाँस्ने गर्नुहुन्थ्यो । कथा सुन्दै जाँदा अनि मलाई पनि कथा, लामो कथा, कहिल्यै समाप्त नहुने कथाको थालनी गर्न मन लाग्थ्यो बालक मनमा । 

एक दिन मैले पनि एउटा लामो कथाको सुरुवात गरेँ आफैँमा । एक्लै भएका बेलामा मेरो कल्पनाशीलता बढ्न थाल्यो । त्यो कल्पनाशीलता राति डिबी निभाएपछि पनि आउन थाल्यो । मेरो कल्पनाको लामो कथामा एउटा सम्भ्रान्त परिवार देखियो । छोराको नाम पनि नवराज, गण्डकराज र सरलराज राखेँ । थर त मैले राखिनँ तर ती शर्मा थिए भन्ने चाहिँ अहिले पनि सम्झन्छु किनभने ती ब्राह्मण थिए । अनि छोरीको नाम मैले नै सरला राखेँ । साहै्र नै राम्री । सबै दाजुभाइले माया गर्ने । जेठो विद्वान् थियो, माहिलो बलियो थियो, जोसँग पनि झगडा गर्न सक्ने, भीम जस्तै । मेरो भाइ हिमाल पनि माहिलो बलियो थियो । सबैलाई माया गथ्र्यो । अनि महाभारतको कुन्तीका छोरा जस्तै ती पात्रहरू मेरा कल्पनामा आए । कुन्तीका छोरी थिएनन् तर गान्धारीकी छोरी दुःशला थिइन् तर मेरो कल्पनामा ती तीन भाइकी बहिनी पनि थिई सरला । 

सरलाको कोसँग प्रेम हुने हो कि विवाह हुने हो मैले सुरुमा नै केही भन्न सक्दैनथेँ । त्यसैले म यसबारेमा नवराजको विचारलाई महìव दिन्थेँ । अनि नवराजको पनि त कोसँग विवाह हुने हो, गण्डकले कसलाई पिट्ने हो कतिबेर । मलाई नै थाहा थिएन मेरो कल्पनामा पनि । अनि सरलालाई म आफँै पनि बिस्तारै माया गर्न थालेको थिएँ । मेरी कल्पनाका पात्रासँग म नै प्रेम गर्न थालेको थिएँ । अनि त्यो परिवार अधिकारी हुनै सक्दैनथ्यो, काश्यप गोत्री त हुनै सक्दैनथ्यो । 

म कति सङ्कीर्ण भएको थिएँ मेरो कल्पनामा पनि तर तिनै पात्रका गफमा म मग्न हुन्थेँ । कतिसम्म भने म धाराप्रवाह लेख्न जान्दैनथेँ, मसँग त्यस्तो कलम र कापीमा लेख्ने सिप त थिएन तर कल्पनामा मलाई कुनै बाधा थिएन । मसँग भएका सीमित शब्दभण्डारसँग खेल्न म स्वतन्त्र थिएँ । बोलेर कुनै पनि कुरा जाहेर गरिएन, मनमनै मात्र हो कल्पनाशीलता पनि । फेरि त्यो बेलामा त कुनै बाहिरी संसारको बोध नै थिएन आफ्नो पारिवारिक परिवेशबाहेक । आफ्नो गाउँठाउँ, मावलीगाउँ रामेछापको पकरबास र पकरबास आउँदा जाँदा पर्ने खुर्कोट, हैबार, बलिनी, देउरालीटार, बेनीघाट, सान्ने, पार्चनडाँडो र पकरबासको ढुङ्गेलगाउँ अनि पसल जाँदा वा पानी पँधेरोमा जाँदा फुल्पा । 

अनि मेरा क्षमताले बुझेको कथा, उपन्यास र कविताका भरमा मैले एकान्तमा कथा खेल्थेँ । नाटक खेल्थेँ । कविता बोल्थेँ तर एकान्तमा मात्र । बडो रुचिका साथ । एकान्तमा भनेको कुरामा कोही पनि साक्षी नहुने । राम्रो वा नराम्रोको कसैले टिप्पणी नगर्ने । मनमौजी ताल । उत्तर बाल्यावस्था भनेको सामान्य यौन चेतना चाहिँ सुरु भएको तर आद्योपान्त जानकारी नभएकाले अल्पज्ञानको अति ज्ञान हुन्थ्यो जस्तो लाग्यो अहिले ।

सरलालाई कसैले जिस्क्याएमा गण्डकले झापु हान्थ्यो र मलाई नै भन्थ्यो उसलाई पिटेँ भनेर मेरो कल्पनामा । सरला लाजले रातोपिरो हुन्थी । मेरा कल्पनामा द्रौपदीबारे सुनेका कुरा र भीमको क्षमतालाई गण्डकमा समाहित गराउन चाहन्थेँ सायद । युधिष्ठिरको स्थिरता नवराजमा म समावेश गर्न चाहन्थेँ र अर्जुनको क्षमता सरलमा देखाउन चाहन्थेँ शूरता, वीरता र सुझबुझका लागि । अनि म नि ? कृष्णको भूमिकामा ? सायद म नदेखिएरै सवै कुराको समीक्षा र अनुगमन गरिरहेको थिएँ सपनामा झैँ । सपनामा त आफूले नै सबै कुराको अनुगमन गरेको हुन्छ प्राणीले र आफू मरेकोसमेत आफैँले देखिरहेको हुन्छ लोकको भनाइका आधारमा स्वर्ग र नर्क पनि देखिन्छ । ठिक त्यस्तै पात्रहरू मेरा सिर्जना भएकाले मसँगै हुनु स्वाभाविक थियो र त्यस्तै पनि भएको थियो । 

जे जे नयाँ कुरा म सुन्थेँ, पढ्थेँ ती सबै कुरामा म अन्तव्रिर्mया गर्थें मेरा ती कल्पनाका पात्रसँग । तिनले मसँग संवाद गर्थे, म मात्र सुन्थेँ र म त्यो कुरालाई ठिक वा बेठिक भनेर भन्थेँ पनि तर अचम्म ती मसँग विवाद गर्दैनथे । म नै अन्तरद्वन्द्वमा परेका बेला ती मसँग पनि विवाद गर्थे र मलाई अन्यमनस्क बनाउँथे । आखिर ती मेरा मानस पात्र भएकाले अन्त्यमा मेरा कुरामा उनीहरूको समर्थन हुन्थ्यो र म ढुक्क भएर आफ्नो पक्षमा पात्रहरू पार्न पाएकाले खुसी हुन्थेँ । 

Author

हरिविनोद अधिकारी