काठमाडौँ, मङ्सिर २२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
यसअघिका खेलमा ठुलो योगफल खडा गरेपनि लगातार दुई हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । आज तेस्रो खेलपनि हारेमा लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्नेछ ।
यता सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।