• ७ पुस २०८१, आइतबार

पुराना गीतको लोकप्रियता

blog

श्रुति परम्परा अनुसार ताल, सुर, शब्दानुप्रास र अन्त्यानुप्राससमेत मिलाएर मेला, पर्व आदिमा गीत गाउने चलन पुरानै हो । यस्ता गीतमा मनका पीर, बेथा र खुसी प्रतिविम्बित भएका हुन्छन् । ग्रामीण समाजमा गाइने यस्ता लयात्मक गीतमा मिठास थप्न मादल, हार्मोनियम जस्ता वाद्यवादन समाविष्ट गर्ने गरिन्छ । लय हालेर गाउन मिल्ने भावसहितको काव्यात्मक रचना, ताल र सुर मिलेको वाद्यवादन र मिठासपूर्ण स्वरको त्रिकोणात्मक सम्मिश्रणबाट सिर्जित कर्णप्रिय गायनलाई स्वरबद्ध गीत भनिन्छ । लय हालेर गाए पनि सङ्गीतले नसजिएका सबै गीत कर्णप्रिय हुँदैनन् ।  लोक, आधुनिक तथा राष्ट्रिय गीत गरी तीन प्रकारका गीत चलनचल्तीमा रहेका छन् । भजनकीर्तन जस्ता भक्ति गायनलाई आधुनिक गीतकै पङ्क्तिमा समावेश गरिन्छ । नृत्य कला पनि सङ्गीतको परिधिभित्रै पर्दछ । मानव सभ्यताको उषाकालीन समयदेखि नै अस्तित्वमा रहेको सङ्गीत मानव जीवनका लागि मात्र नभएर पशुपन्छीका लागि समेत आकर्षणको विषय बनेको कुरा कसैबाट छिपेको छैन । 

नेपाली सङ्गीत क्षेत्रको इतिहास बुझ्नका लागि वैदिककालमै पुग्नु पर्दछ । नेपाल–भारतलगायत अन्य क्षेत्रमा प्रचलित पूर्वीय दर्शन र संस्कृतिमा आधारित सङ्गीतको मूल हाँगो  पहिल्याउन हिन्दु शास्त्रीय वेदको जरो समाउनु जरुरी छ । हिन्दु शास्त्रका चार वेदमध्ये सामवेदमा सङ्गीतको चर्चा प्रस्टसँग गरिएको छ । नेपाली सङ्गीत पनि यसैको एक अङ्ग भएकाले यसको प्रभाव यहाँ नपर्ने कुरै छैन । सङ्गीतको महिमा अपार भएकोले हाम्रा ऋषिमुनिले सङ्गीतलाई ‘पञ्चम वेद’ को उपनाम दिएका छन् । सङ्गीत शास्त्रको विधालाई ‘गन्धर्व वेद’ को नामले समेत पुकारिने गरिन्छ । पूर्वीय सङ्गीतको पहिलो ग्रन्थका रूपमा भरतमुनिको ‘नाट्यशास्त्र’ लाई लिने गरिन्छ । यस ग्रन्थमा नाटक, नृत्य र सङ्गीतको सिद्धान्तसम्बन्धी व्याख्या गरिएको छ ।

स्वयम् ब्रह्माजीले नारदमुनिलाई सङ्गीतको वरदान दिएको र नारदजीबाटै यो क्षेत्रको विस्तार भएको कुरा हाम्रा पौराणिक ग्रथहरूमा उल्लेख गरिएको छ । हिन्दु शास्त्रका चारै वेदको रचना गर्दा सामवेदको ‘सप्तक’ सूत्रलाई आधार मानेर गरिएकोले वेदका ऋचाहरू सरस र सरल भएका हुन् । सप्तकलाई ‘समगान’ पनि भन्ने गरिन्छ । ‘सा, रे, ग, म, प, ध, नि’ नामले सम्बोधन गरिने सङ्गीतका सात स्वरलाई आधार बनाएर लेखिएका वेदका वाक्यहरू शृङ्गार रसले भरिपूर्ण छन् । फलतः हाम्रा वेदको पठनपठान र अध्ययनमा सरसतासहितको रुचि थपिएको पाइन्छ । भरतमुनिको ‘नाट्यशास्त्र’ पछिको सङ्गीत विषयको अर्को प्राचीन ग्रन्थ शारङ्गदेवको ‘सङ्गीत रत्नाकर’ हो । १२ औँ शताब्दीको पूर्वार्धमा लेखिएको उक्त ग्रन्थ सात अध्यायमा तयार गरेर सङ्गीत र नृत्यका बारेमा सविस्तार वर्णन गरिएको छ । नेपाली सङ्गीत क्षेत्रको विकास पनि यसैको माध्यमबाट भएको हो । सृष्टिको शुभारम्भदेखि नै आफ्ना मनमा उठेका सुखदुःखका भावहरू समाजका अन्य सदस्यमाझ पु¥याउन कवितात्मक लयमा सुरिलो स्वरमा कविता, गीत, भजन आदि गाउने चलन हिजो थियो, आज छ र भोलि पनि रहिरहने छ । गाउँघर, मेलापात, घाँसदाउरा इत्यादि गर्न जाँदा होस् वा गाईवस्तु चराउन जाँदा नै किन नहोस्, हाम्रा किशोरकिशोरी मात्र नभएर वयस्क पनि गीत गुनगुनाउन थाल्दछन् । हरेक मानिस आफ्ना अन्तरमनका भावनालार्ई गुनगुनाएर अभिव्यक्त गर्न लालायित हुन्छन् । 

गीत सङ्गीत समाजको दर्पण हो, जहाँबाट सिङ्गो समाजको प्रतिछायाँ प्रतिविम्बित हुने गर्दछ । पुराना गीतमा जुन मुर्छना र स्वाभाविकता पाइन्थ्यो, अहिले त्यो पाइँदैन । सस्तो लोकप्रियताका लागि समाजको अध्ययनै नगरीकन कोठामा केही क्षण घोत्लिएकै भरमा लेखिने गीतले सिङ्गो समाजको प्रतिनिधित्व गर्न सक्दैन । यस्ता गीतका कारण गीति कविता फाँटको मौलिकतामा नै आँच आउँदछ । नेपाली वा हिन्दी जुनसुकै भाषाका किन नहुन्, पुराना गीतमा अन्तर्निहित भावनाहरू गहन, चीरस्थायी र समयसाक्षेप हुने हुँदा यिनीहरू सदावहार गीतको कोटीमा पर्दछन् । पुरानो जमानामा लेखिएका गीति रचनाभित्र गुढ तìव छिपेको हुन्थ्यो, त्यसैले तिनीहरू अजर अमर भएर रहेका छन् । सदावहार गीतका सर्जकमा अरुणा लामा, नारायण गोपाल, झलकमान गन्धर्व, तारादेवी, कुमार बस्नेत जस्ता मूर्धन्य गायकले गाएका गीतहरू हिजो पनि त्यत्तिकै लोकप्रिय थिए, आज पनि छन् र भोलि पनि रहने छन् । उहाँहरू लगायत अन्य थुप्रै कलाकारले नेपाली साङ्गीतिक फाँटमा लगाएको गुणको भारा हामीले तिर्न सकेका छैनौँ । नेपाली लोक साङ्गीतिक फाँटका एक अमर स्रष्टा स्व. झलकमानको ‘आमाले सोध्लिन् खोइ छोरा भन्लिन्’ सामाजिक सञ्जालमा सर्वाधिक बज्ने ‘तिम्रो नै माया लाग्दछ साँहिली सम्झन्छु छिन् छिन, तिमीले माया नगरे पनि गर्छु म दिन् दिन’ बोलको लोकलयमा आधारित गीतले श्रोतालाई अहिले पनि मन्त्रमुग्ध बनाउँछ । 

रेडियो नेपालले चार दशकपहिले रेकर्ड गरेको झलकमानको आवाजको यो गीत विभिन्न देशका कलाकारले नेपाली भाषामा गाउने गरेको पाइन्छ । नेपाली मूलका उदीयमान अङ्ग्रेजी गायक अर्थर गन (दिवेश पोखरेल) को समेत रोजाइँमा परेको यो गीत सबैको छनोटमा पर्नुको पछाडि यसको सरलता, सरसता र सुबोधता नै प्र्रधान हुनु पर्दछ । नारायण गोपाल, तारादेवी, अरुणा लामा जस्ता लोकप्रिय कलाकारका पुराना गीतहरू नयाँ कलाकारले कभर सङका रूपमा गाउँदै आएको पाइन्छ ।   

Author

बलराम चौलागाईं