खलङ्गा समाचारदाता
जाजरकोट, मङ्सिर २२ गते । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा भूकम्पपीडितको बिचल्ली हुन थालेको छ । गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले स्थानीयको आवास क्षतिग्रस्त भएपछि पुनर्निर्माणको पर्खाइमा रहेका पीडित परिवार चिसो मौसममा टिनको छानामुनि बस्न बाध्य छन् ।
सरकारले घर बनाइदिन्छ र न्यानो आवासमा बस्न पाइएला भन्ने आशामा बसेका पीडित परिवारलाई यो पुस, माघको जाडो कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ । यहाँका बासिन्दा त्रिपालले ढाकेका र भित्ता चिरा चिरा परेका घरमा जोखिम मोलेर बस्न बाध्य छन् । भेरी नगरपालिका–१ का सज्जनराज विकका अनुसार स्थानीय सरकारले समयमा पुनर्निर्माणको काम अघि नबढाउँदा स्थानीयले कष्टपूर्ण जीवन बिताउनु परेको छ । भूकम्प गएपछि करिब छ महिनामा हुने काम एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा बालबालिका र बुढाबुढीलाई चिसो समयमा ज्यान जोगाउन मुस्किल भएकोे उहाँको भनाइ छ ।
अर्का भूकम्पपीडित भेरी नगरपालिका–१ का उत्तर पौडेलले भूकम्प गएदेखि टिनको छानामुनि बास बस्नु परेको बताउनुभयो । बर्खाको पीडा नसकिँदै पुस, माघको चिसोले सताउने डर भएको उहाँले बताउनुभयो ।
सरकारले पुनर्निर्माणको काम छिटोछरितो गर्न नसक्दा सामान्य रोजगारीबाट जीविकोपार्जन गरेर गुजारा चलाउने परिवार झन् पीडित भइरहेका छन् ।
सर्वसाधारणको भौतिक संरचनाको मात्र पुनर्निर्माण हुन नसकेको होइन कि अहिले पनि जाजरकोटका दुई वटा रातो र सेतो दरबार त्रिपालले ढाकिएका छन् ।
घरआँगनको स्थानीय सरकारले जनताको पीरमर्का बुझेर पुनर्निर्माणको काममा चासो दिन नसक्दा यहाँका सरोकारवाला पनि चिन्तित भएका छन् । राजनीतिक दल, तत्कालीन सरकारका मन्त्री र सरोकारवाला निकाय भूकम्प प्रभावित क्षेत्र पुगेर जनतालाई आश्वासनका पोका बाँडे पनि हालसम्म पुनर्निर्माण सुरु हुन नसक्दा यहाँका बासिन्दामा नैराश्य छाएको छ ।
भेरी नगरपालिका–३ का कृष्णविक्रम शाहले गत वर्ष पुस, माघको चिसो नबिर्सिंदै फेरि चिसो सुरु भएको बताउनुभयो । उहाँले हिउँद बर्खामा त्रिपालको सहारामा गुजारा चलाउनुपर्ने बाध्यता कहिले हट्ला भनेर प्रतिप्रश्न गर्नुभयो ।
बारेकोट, कुसे गाउँपालिका, नलगाड नगरपालिकालगायतका क्षेत्रका बढी प्रभावित बासिन्दाले पोषणयुक्त खाना, न्यानो बास, बिरामी परेपछि सुविधासम्पन्न स्वास्थ्य सेवासमेत पाउन सकेका छैनन् ।