• १२ पुस २०८१, शुक्रबार

‘योजनाको रकम बाँडिखाने दिन गए’

blog

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर २३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झ्यालबाट योजना निर्माण गरेर बजेट बाँडिखाने प्रवृत्ति अब नदेखिने बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक सेवा प्रवाह एवं विविध विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम बनिसकेकाले अनुदान शीर्षकमा रहेका बजेट वितरण प्रक्रियामाथि अहिलेदेखि नै पुनर्विचार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।   

मुख्यमन्त्री कँडेलले यसभन्दा अघिको समयमा कसले, कसरी विकासका योजना वितरण गरे भन्नुभन्दा पनि अब कर्णाली सरकारमा जोसुकै व्यक्तिको नेतृत्व भए पनि विकासे योजना हचुवाका भरमा निर्धारण नहुने कुरामा विश्वस्त रहन आग्रहसमेत गर्नुभयो । सुर्खेतका नौ वटै पालिकाका प्रमुख तथा उपप्रमुखसहित जिल्लास्थित स्थानीय, प्रदेश तथा सङ्घीय कार्यालयका प्रमुखको सहभागिता रहेको सो अन्तक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेशबाट पालिकामा जाने कार्यक्रम तथा योजना पालिकालाई पूर्वजानकारी दिएर मात्र लैजानसमेत आग्रह गर्नुभयो । 

उहाँले परिणाम निस्किने गरी अहिलेदेखि नै पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।