गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यान्वयनबारे शुक्रबार आयोजित एक अन्तर्क्रियामा अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
भ्रमण दलका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहललगायतबारे चिनियाँ व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताउनुभयो ।
उहाँले परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणबारे पनि दुई पक्षबिच राम्रो छलफल भएको बताउनुभयो ।
क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गर्नुभयो । अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानुन र निजी क्षेत्रले लिने पहलकदमीबारे चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो । क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।”
अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद रहेको बताउनुभयो । उहाँले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथामिकतासाथ राखेको जानकारी दिनुभयो ।