• ८ पुस २०८१, सोमबार

उच्च करदातालाई परिसङ्घको सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई नेपाल उद्योग परिसङ्घले सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । 

सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । 

राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैङ्क, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैङ्कलाई परिसङ्घले सम्मान गरेको हो । 

यस्तै स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी 

आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसङ्घले सम्मान गरेको हो । 

यसै गरी २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आव २०७९/८० को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण बेभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसङ्घले सम्मान गरेको छ । शाह परिसङ्घका उपाध्यक्षसमेत हुनुहुन्छ । 

परिसङ्घ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभयो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महìवपूर्ण योगदान भएको बताउनुभयो ।