गोरखापत्र समाचारदाता
ललितपुर, मङ्सिर २२ गते । उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने भएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने भएको हो ।
उहाँले गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिको निर्णय पनि बैठकले गर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारबाहीसहित समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।