• ८ पुस २०८१, सोमबार

सोल्टी होटलमा शनिबार एवन बजार सञ्चालन हुने

blog

क्टिभ उमन अफ नेपाल (एवन)का पदाधिकारीहरु ।

काठमाडौं, मङ्सिर २१ गते । काठमाडौंको सोल्टी होटलमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता सञ्चालन गर्दै आएको एवन बजारको २०२४ संस्करण डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गते आयोजना हुने भएको हो ।

सो आयोजनाको उद्घाटन शनिबार बिहान ११ बजे अमेरिकी राजदूत डिन आर थम्पसले गर्नुहुने कार्यक्रम रहेको एवनले जनाएको छ । साथै यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरुले सहभागिता जनाउनेछन् ।

एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइँदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानीय उत्पादन, फेसनवेयर, हस्तकलाका सामग्री लागायतका स्टलहरु रहनेछन् । विभिन्न किसिमका आकर्षक स्थानीय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि विशेष आकर्षण रहने छ ।

यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु सञ्चालन गरिनेछ । एवन बजारबाट सङ्कलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको छ । ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो ।

जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोवास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो । भूकम्प, कोभिड, बाढीपहिरो जस्ता दैवी प्रकोपमा विभिन्न किसिमका सहयोग गरेको एवनले असहाय तथा आर्थिक रुपमा विपन्न व्याक्तिलाई ह्विल चेयर वितरण, औषधी उपचार सहयोग, छात्रवृत्ती प्रदान लगायतका कार्यहरुमा सक्रियता जनाउँदै आएको छ ।

सोल्टी होटल परिसरमा शनिबार बिहान ९ देखि साँझ ६ बजेसम्म आयोजनाहुने एवन बजारबाट सङ्कलित रकम आगामी वर्षका च्यारिटेबल कार्यहरुमा खर्च गरिनेछ । यो कार्यक्रमको महत्त्व बारे उजागार गर्दै एवनका प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठ भन्छिन्, “यो एवन बजार मनोरञ्जनका लागि मात्र होइन, यो एउटा अवसर पनि हो, परोपकारी भावनाको साटासाटको । हामी वर्षेनी एवन बजार आयोजना गरेर नयाँ सालको स्वागतको तयारी मात्र होइन, परोपकारी हातहरु जुटाउने र एक ठाउँमा भेला भएर सहयोगका प्रतिबद्धताहरु पनि गर्छौं ।”

यस एवन बजार २०२४ मा यात्रा म्यागेजिन, टर्किस एअरलाईन्स, नेपाल एअरलाईन्स, यती एअरलाईन्स, आइविवी बेबी डाइपर, केफ किचन एप्लाइन्सेस, अरुण चौधरी फाउण्डेसन, ग्लोबल आईएमई बैंक, सुमेरु हस्पिटल, ट्रान्क्विवालीटी स्पा, रुपिज् इन्टरनेशनल स्कूल र प्राइम बैंक लिमिटेडले प्रायोजन गरेको छ । यस कार्यक्रमका लागि होटल सोल्टी भेन्यू साझेदारको रुपमा छ ।

सोल्टी काठमाडौंका महाप्रबन्धक अविनाश देशमुखले समुदायको उत्थानका लागि समर्थन गर्ने द सोल्टी होटेल्स एण्ड रिसोर्ट्सको प्रतिबद्धतासँग मेल खाने कार्यक्रम एवन बजारको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।