बैतडी समाचारदाता
बैतडी, मङ्सिर २१ गते । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला मङ्गलबार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँमा घाँस काट्न साउनलोटे वनमा गएकी ३९ वर्षीय दुर्गा रावल मृत अवस्थामा फेला पर्नुभएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणका लागि विश्वव्यापी अभियानका रूपमा मनाइने १६ दिने अभियान गाउँ पस्न नसकेको यो एउटा उदाहरण मात्र हो । सहर, बजारमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला ग्रामीण भेगका महिलाले विभिन्न हिंसा झेल्नुका साथै अझै छाउपडी विभेद खेपिरहेका छन् । महिनावारी भएका बेला घिउ चले पनि देउता रिसाउने अन्धविश्वासको डरले दुघ चल्दैन ।
ग्रामीण भेगका महिलाको थाप्लोमा मात्रै रहेको काम गाज्जो (खर) काट्ने क्रममा बर्सेनि ग्रामीण महिलाले ज्यन गुमाउँदै आइरहेका छन् । घाँसको त्यान्द्राका लागि कठिन भिर चढ्नुपर्दा गत वर्ष बैतडीको पुरचौडी नगरपालिका–६, की ३२ वर्षीय लीला खडाय, सिगास गाउँपालिका–४, बरमकी ४५ वर्षीया गौरा बोहरा, सिगास गाउँपालिका–८, लुपुण घर भएकी २८ वर्षीय सरस्वती धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।
लैङ्गिक हिंसाविरुद्धको दिवस हरेक वर्ष मङ्सिर १० गतेदेखि सुरु भएर २५ गते (नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म मनाइने गरिन्छ । विगतका वर्ष जस्तै यो वर्षको ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियानले छाउपडी खेपिरहेका ग्रामीण महिलालाई सम्बोधन गर्न सकेन ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने नारा बजारमै सीमित बन्न पुगेको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानका नाराले ग्रामीण भेगका महिलालाई समेट्न नसकेको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताउनुभयो ।
घाँसको त्यान्द्रोले लिन्छ ज्यान
कृषिमा आत्मनिर्भर बैतडीका ग्रामीण क्षेत्रमा गाज्जो (खर) काट्ने काम महिलाले मात्रै गर्दै आइरहेका छन् । कात्तिकदेखि मङ्सिरसम्म बिहान घाम नझुल्किँदै महिला रुखोपिठो खाएर हँसिया र नाम्लो बोकेर दिनभरि कठिन भिरमा चढेर घाँसका त्यान्द्रा काट्दै हिँउदभरिका लागि पशु आहारा जुटाउने गरेका छन् । खर काट्ने क्रममा महिलालाई सुरक्षाका उपाय र लडिहाले पनि ज्यान बचाउन सकिने सुरक्षित डोरी जस्ता कुनै पनि उपकरण साथमा हुँदैनन् ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले पनि नारा दिनेबाहेक कुनै सहयोग गर्न सकेका छैनन् । अकालमै ज्यान गुमाउने महिलाको न जीवन बिमा हुन्छ न त घाइतेको कतैबाट औषधी उपचार हुने गरेको छ ।
भिरबाट लडेर ज्यान गुमाउने परिवारलाई स्थानीय सरकारले कुनै क्षतिपूर्ति र घाइतेलाई औषधी उपचारको व्यवस्था नभएको ग्रामीण महिला सविता बोहराले गुनासो गर्नुभयो । महिला अधिकारका बारेमा गाउँमा कुनै पनि कार्यक्रम सञ्चालन नभएको उहाँले बताउनुभयो ।
घाँस काट्ने क्रममा बैतडीमा बर्सेनि भिरबाट लडेर महिलाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताउनुभयो । उहाँले, भिरबाट लडेका सबै महिलाको जानकारी प्रहरीमा नदिई सिधै दाहसंस्कार गर्ने प्रवृत्ति पनि रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार वर्ष २०७९/८० मा घाँस काट्ने क्रममा चार जना महिलाको मृत्यु भएको प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताउनुभयो ।