राधाकृष्ण डुम्रे
वालिङ मङ्सिर २१ गते । स्याङ्जाको वालिङ नगरपालिकाले कृषि उत्पादनसँगै बजारीकरणमा जोड दिने भएको छ । पालिकाले कृषिमा दीर्घकालीन योजना बनाएर सम्भावना खोज्ने र उत्पादन बढाउने अभियानमा जुटेको हो ।
नगरपालिकाले मुक्तिनाथ कृषि कम्पनीसँग मिलेर कृषि उत्पादन बढाउनुका साथै बजारीकरण अभियान सञ्चालन गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले साझेदारहरुको सहकार्यमा कृषिलाई व्यावसायिकता बढाउँदै लैजाने योजना बनाएको छ ।”
स्रोत र साधनको अभाव रहेको भन्दै प्रमुख खाँणले भएका स्रोत साधनलाई सही रुपमा परिचालन गर्न विज्ञहरुको आवश्यक्ता परेको बताउनुभयो ।
नगरपालिकामा भएको ‘कृषि उत्पादन र बजारीकरण’ छलफलमा कृषकहरुले उत्पादनले बजार नपाउँदा आफूहरुमा काम गर्ने जाँगर हराउँदै गएको बताएका थिए । वालिङ नगरपालिका–१० कृषक रुक्मागत ढकालले कृषि उत्पादन गर्नै समस्या, उत्पादन गरे पनि बजारको समस्या रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी बजारसम्म पुग्न सक्दैनौं बिचौलियाहरुले धेरै नाफा खाईदिन्छन्, हामीलाई सबै थाहा छ तर केही गर्न सक्दैनौं ।”
छलफलमा सहभागी नगरका अगुवा कृषकहरुले बजारको व्यवस्थापन गरी आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । गुणस्तरीय बीउ, आधुनिक कृषि औजार आदिमा कृषकले धेरै मेहनत नगर्ने हो भने उत्पादन बढ्ने कृषक शोभाकान्त काफ्लेको भनाइ छ ।
नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि उत्पादन बढाउन र बजारीकरणका लागि पालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले पशु खरिदमा अनुदान दिएको छ भने दुध लगायतका बस्तुमा उत्पादनमा आधारित अनुदान दिएको छ ।”
कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्रवन्धक निर्देशक भरतराज ढकालले कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ भन्ने अभियानका साथ काम सुरु गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “उत्पादन र उत्पादकत्व बृद्धि, प्रविधि प्रसार, कषि उद्योग र बजारीकरणमा कम्पनीको विशेष योजना छ ।”
छलफलमा निर्देशक ढकालले गुणस्तरीय खाद्यान्नय प्रवद्र्धन, खाद्य सारक्षता, बजार सूचना प्रणाली र उपभोक्ता हित संरक्षणमा काम गर्न सुरु गरेको बताउनुभयो ।
कृषकलाई कृषि कर्ममा सहज बनाउँदै कृषि उत्पादन बढाउने योजना रहेको उहाँको भनाइ छ । कम्पनीले सार्वजनिक, नीजि, सहकारी साझेदारीमा काम गर्नुपर्नेमा ढकालको जोड छ ।
सो अवसरमा नगरपालिका र कम्पनीबिच सम्झौता गरी कृषि र यससम्बन्धी कामलाई अगाडि बढाउने योजना रहेको जानकारी गराइएको थियो ।
छलफलमा नगरपालिका भित्रका अगुवा कृषक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।