गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व. श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई...भन्ने गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ ।
‘संसारमा तिमीलाई अब भेटिँदैन तर पनि हाम्रो माया कहिल्यै मेटिँदैन..’ भन्ने गीतमा गायक मातृका आचार्यले स्वर दिनुभएको छ भने पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत बिहीबार गीतको लोकार्पण गर्नुभएको थियो । गीत सार्वजनिक गर्दै उहाँले दुःखद घटनापछि सकारात्मक सन्देश दिने काम गीतले गरेको उल्लेख गर्नुभयो । क्यान्सर जस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसङ्गीत र समाचारमार्फत घचघचाउनु पर्छ ।”
प्रेस काउन्सिलले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको र यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताउनुभयो । अन्य किसिमका धेरै गीत आइरहेका भए पनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँयुगसम्म भेट भइरहने उहाँले बताउनुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गर्नुभयो । गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखेको भए पनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताउनुभयो । महिलाहरूमा पाठेघर र स्तन क्यान्सरको जोखिमबारे सचेत हुनुपर्ने उहाँले बताउनुभयो । उहाँकी श्रीमती अनिताको क्यान्सरका कारण निधन भएको थियो । गायक आचार्य र सङ्गीतकार न्यौपानेले गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताउनुभयो ।