• ८ पुस २०८१, सोमबार

नेपाली मौलिक दर्शन र दार्शनिकबारे प्रतिष्ठानले अध्ययन गर्ने : कुलपति राई

blog

अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले आयोजना गरेको ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठी । तस्बिर : नेपाल प्रज्ञाप्रतिष्ठान

काठमाडौं, मङ्सिर २१ गते ।  नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठीको समुद्घाटन गर्नुहुँदै कुलपति राईले सो कुरा बताउनुभएको हो ।

ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञाप्रतिष्ठानले खोजमूलक अध्ययन गरी तिनको निरुपण गर्ने पनि उहाँले बताउनुभयो ।

यसैगरी, दार्शनिक चिन्तक गोपीरमण उपाध्यायले ‘समाज विकास र दर्शन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै, ‘‘वर्तमान युग समाजवाद र पुँजीवादबिच द्वन्दको युग हो । यसको दार्शनिक चिन्तन प्रणाली वैज्ञानिक भौतिकवाद हो’’ भन्ने धारणा राख्नु भएको थियोे ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै मार्क्सवादी चिन्तक श्याम श्रेष्ठले कुनै पनि दर्शनलाई गति र वर्गीय समानताको आधारमा आलोचनात्मक दृष्टिकोणसहित विज्ञानसम्मत ढङ्गले समाज विकासलाई हेर्नुपर्ने जिकिर गर्नुभयो । अर्का टिप्पणीकार राजनीतिक चिन्तक प्रमेश हमालले समाज विकासमा दर्शन र चिन्तनले पारेको प्रभावलाई वस्तुत निष्ठ व्याख्या गर्न जोड दिनुभएको थियो ।

सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै  कुनै धर्मले संशयलाई रोक्छ । तर कुनै पनि दर्शनले विषयवस्तुमाथि संशय पैदा गरिदिन्छ भने दर्शन विज्ञानले ठयाक्कै निरुपण गर्ने बताउनुभयो । यसले समाज विकासमा गहिरो प्रभाव रहेको उहाँको भनाइ छ ।

उक्त ‘समाज विचार र दर्शन’ विषयक विचार–गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय डा.भागवत आचार्य र धर्मेश पोखरेल तथा सहभागीका तर्फबाट डा.भरतप्रसाद बराल, निमानन्द रिजाल, डा.सोम धिताल, प्रकाश तिमल्सिना र प्रेम शिल्पकारले आआफ्ना जिज्ञासा राख्नुभएको थियोे । कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।