• ८ पुस २०८१, सोमबार

खेतीयोग्य माटोमा अम्लीयपना धेरै

blog

बनेपा समाचारदाता

बनेपा, मङ्सिर २१ गते । काभ्रेपलाञ्चोकको खेतीयोग्य जमिनको माटोमा अम्लीयपना बढी देखिएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानमा गरेको माटो परीक्षणका क्रममा जिल्लाको माटोमा अम्लीयपना बढी देखिएको हो । 

कार्यालयले विश्व माटो दिवसको अवसर पारेर बिहीबार आयोजना गरेको सरोकारवालासँगको अन्तर्क्रियामा कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यपत्र प्रस्तुत गर्दै पाँचखाल, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकालगायतका स्थानीय तहबाट सङ्कलन गरेको १५ वटा माटोको पिएच मापक गर्दा १४ वटामा अम्लीयपनाको मात्रा बढी भएको देखिएको र एउटामा तटस्थ देखिएको बताउनुभयो । 

परीक्षणका लागि लिइएको माटोमध्ये नौ वटा माटोमा नाइट्रोजनको मात्रा मध्यम, तीन वटामा कमी, दुई वटामा अत्यधिक पाइएको छ । यस्तै लिइएका नमुनामा आठ वटामा फस्फोरसको मात्रा अत्यधिक, चार वटामा उच्च, तीन वटामा न्यून फोस्फोरस, पाँच वटामा पोटासको मात्रा उच्च, पाँच वटामा अति उच्च, तीन वटामा मध्यम र दुई वटामा पोटासको मात्रा न्यून देखिएको दवाडीले बताउनुभयो । उहाँले जिल्लाको पनौती नगरपालिकामा विसं २०७८ मङ्सिरमा गरिएको १९२ वटा माटोको नमुना परीक्षणमा १०९ वटामा प्राङ्गारिक पदार्थ कम, ७१ वटामा मध्यम र १२ वटा अधिक, ९१ वटामा नाइट्रोजनको मात्रा कम, ७१ वटामा मध्यम, ३० वटामा कम, १९२ नमुनामध्ये १६ वटामा फस्फोरसको मात्रा कम, १६ वटामा मध्यम र १६० वटामा अधिक, ७० वटामा पोटासको मात्रा कम, ८१ वटामा मध्यम र ४१ वटामा पोटासको मात्रा अधिक रहेको बताउनुभयो । 

उहाँले पनौतीमा गरिएको पिएच मान परीक्षणमा १८० वटामा अम्लीयपना बढी, १२ वटामा तटस्थ देखिएको बताउनुभयो । उहाँले सरकारले जिल्लामा गरेको डिजिटल स्वायल म्याप अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा रहेको माटोमा प्राङ्गारिक मात्रा राम्रै रहेको, अम्लीयपना बढी, नाइट्रोजनको मात्रा कम, फस्फोरसको मात्रा अत्यन्त कम र पोटासको मात्रा मध्यम देखाएको बताउनुभयो । 

बागमती प्रदेश सरकारले २०७८ मा गरेको तीन हजार ६९६ वटा माटोको नमुना परीक्षणबाट ८४ प्रतिशत माटोमा अम्लीयपना, छ प्रतिशत तटस्थ र १० प्रतिशत क्षारीय देखिएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले माटोमा रहेको अम्लीयपना घटाउनका लागि तल्लो तहसम्म रहेका किसानलाई प्राङ्गारिक मलको प्रयोगबारे जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा रेसम खेती विकास कार्यालयका प्रमुख कृष्ण धितालले किसानलाई प्राङ्गारिक मलतर्फ आकर्षित गर्नका लागि विभिन्न किसिमका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।