• ८ पुस २०८१, सोमबार

छिट्टै सकियो पर्यटकीय सिजन

blog

कास्की समाचारदाता

कास्की, मङ्सिर २१ गते । पर्यटन व्यवसायीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटनका लागि ‘पिक सिजन’ हो तर यस पटक अघिल्लो वर्ष जस्तो पर्यटक यस क्षेत्रमा अडिन सकेका छैनन् । यस पटक पर्यटक आगमनको आकार खस्किँदै जाँदा नोभेम्बरको अन्तिम सातादेखि नै पर्यटन क्षेत्र सुस्ताउन थालेको छ ।  

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटकीय मौसम सुरु भएर पनि अन्त्य हुन लागेको बताउनुभयो । “यो पटक पर्यटकीय सिजन छोटो भयो । पर्यटक आए पनि लामो समय टिक्न सकेनन् । पदमार्ग पनि छोट्टिन थालेका छन् । अघिल्ला वर्षको अभ्यास हेर्ने हो भने अझै केही दिन पर्यटक आगमन उकालैलाग्दो अवस्थामा रहन्थ्यो तर यो वर्ष भने त्यो अवस्था रहेन, नोभेम्बर तेस्रो सातापछि पर्यटन क्षेत्र सुस्ताउन थालेको हो,” उहाँले भन्नुभयो ।

अघिल्ला वर्ष तीन महिना चल्ने पर्यटकीय सिजन यो पटक बढीमा एक महिना मात्र चम्कियो र बाँकी समय सुस्ताएरै सकिएको उहाँको भनाइ छ । बाटो र हवाईका कारण पर्यटक आगमनमा कमी भएको उहाँले सुनाउनुभयो । मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा ढिलाइ हुँदा आउने पर्यटकलाई असहज हुने गरेको उहाँको भनाइ छ । “काठमाडौँबाट पोखरा आउन सडकका कारण १२/१३ घण्टा लाग्ने हुँदा पर्यटक आउन सकेका छैनन् । त्यसैमाथि खराब मौसम, हवाईमा टिकट महँगो हुनु अर्को कारण रहेको छ,” उहाँले भन्नुभयो । 

पोखरा होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी होटेलको अकुपेन्सी अहिले ४० प्रतिशत रहेको सुनाउनुभयो । पोखराको पर्यटन क्षेत्रको अकुपेन्सी बिस्तारै उकालो लाग्दा एक्कासि झर्नु परेको उहाँको भनाइ छ । “अक्टोबर मध्यदेखि नोभेम्बर मध्यसम्म करिब एक महिना मात्र सिजनको अनुभव भयो । त्यो बेला ७० प्रतिशत हाराहारीमा अकुपेन्सी उक्लियो तर अहिले त ओरालो लागिसकेको छ । लामो समय आगमन हुन नसक्दा सिजन महिना दिनभन्दा बढी टिक्नै सकेन,” उहाँले भन्नुभयो । 

हाल पोखरामा युरोपेली, भारतीय र आन्तरिक पर्यटक रहेको र चीनका निकै कम सङ्ख्यामा रहेको उहाँले जानकारी दिनुभयो । “स्कुलका विद्यार्थी भ्रमणमा आउने गरेका छन् । पहिलाको जस्तो विदेशी पर्यटक सिजनको बेलामा पनि अहिले छैनन् । विभिन्न कारणले गर्दा पनि बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको छ,” उहाँले भन्नुभयो ।