काठमाडौँ, मङ्सिर २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको व्यापार सहजीकरणलगायतका विषयमा उच्चस्तरीय नेतृत्वसँग कुराकानी गर्नुभएको छ । भारत भ्रमणका रहेका मन्त्री भण्डारीले भारतका उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीसँगको भेटमा बुधबार साँझ नयाँ दिल्लीमा त्यस्तो छलफल गर्नुभएको हो ।
भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो ।
मन्त्री भण्डारीले सो क्रममा भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै गर्ने सन्दर्भमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो ।
यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि समकक्षी जोशीको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभागबिच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ । सिलिगुडी–झापा र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण, सर्लाहीमा एलपी ग्यासको पाइपलाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात बढाउने, भारतीय लगानी नेपालमा बढाउनेलगायतका विषयमा छलफल तथा कुराकानी भएको जनाइएको छ । साथै उहाँहरूबिच कञ्चनपुरको बेलौरी नाका सञ्चालनका विषयमा पनि छलफल भएको बताइएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९ औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, भारतीय विदेशमन्त्री डा. एस जयशङ्र, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रह्लाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारीलगायतसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
चौथाइवालेसँगको भेटका क्रममा उहाँले दुई देशबिचको सौहार्दपूर्ण सम्बन्धका विषयमा कुराकानी गर्नुभएको जनाइएको छ । भारतीय विदेशमन्त्रीसँगको भेटमा उहाँले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नु परेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयका सदस्य रमेश भट्टले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।