अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २० गते । स्याङ्जाको ग्रामीण बस्तिमा क्षयरोगीको संख्या बढेको छ । भीरकोट नगरपालिका –१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँगै यहाँ क्षयरोगीको संख्या अझ बढी हुनसक्ने आँकलन गरिएको हो ।
क्षयरोग खोजपडताल स्वास्थ्य जाँच निःशुल्क स्वास्थ्य शिविरमा २.४ प्रतिशत क्षयरोगका बिरामी फेला परेका हुन् । यहाँ उपचारका लागि आएका ४५० जनामा क्षयरोगका बिरामी भेटिनु अत्यधिक रहेको हो ।
भीरकोट नगरपालिका र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) को आयोजना, जिल्ला स्वाास्थ्य कार्यालय र क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा सहकार्यमा निःशुल्क क्षयरोग परीक्षण गरिएको छ ।
एआई पद्धतिको डिजिटल पोर्टेवल अत्यधुनिक मेसिन प्रयोग गरी विशेषज्ञ डाक्टर र स्वास्थकर्मीको टोलीले उपचार गरेको छ । दीर्घरोगी, बयोबृद्ध र क्षयरोगीको सम्पर्कमा आएकालाई लक्षित गरेर शिविरको आयोजना गरेको बताउँदै जन्त्रक परियोजना अधिकृत भावना पोखरेलले संकास्पद ३९ जनाको खकार नमुना परीक्षणका लागि लगिएको बताउनुभयो ।
स्वास्थ्य परीक्षणलाई हेर्दा क्षयरोगी गाउँमा लुकेर बसेको र यसको निदानका लागि गतीविधि बढाउनु पर्ने आवश्यकता रहेको जिल्ला क्षयरोग अधिकृत बिष्णु सुबेदीले बताउनुभयो ।
डा. प्रमोद भट्टराईको नेतृत्वमा १२ जनाको स्वास्थ्यकर्मी टोलीले क्षयरोग परीक्षण गरेको थियो । यहाँ भीरुकोट, अर्जुनचौपारी, पुलतीबजारबाट क्षयरोग परीक्षणको लागि सेवाग्राही आउनु भएको थियो ।