गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर २० गते । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबिच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा सहमति भएको छ। विभागका प्रमुख डा. कुन्दन अर्याल र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाइँविच सहमति भएको हो ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोधवृत्ति उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । कार्यक्रममा विभागका प्रमुख डा. अर्याल र कार्यकारी अध्यक्ष हुमागाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकाले प्रवर्धन गर्न शोधवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । विभाग प्रमुखका डा. अर्यालले विद्यार्थीलाई आकर्षित गर्न बोर्डले गरेको शोधवृत्तिको निर्णयमा धन्यवाद व्यक्त गर्नुभयो ।