रमेश पौडेल
पोखरा, मङ्सिर २० गते। नेपाल सरकारको लगानीमा पोखराको बैदाममा निर्माण गरिएको वडा प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहीबार उद्घाटन गर्नुभएको छ।
करिब १० करोड ६० लाखको लगानीमा निर्माण गरिएको सो प्रशासनिक भवन ५ रोपनी १२ आना क्षेत्रफलको एक हजार ९०५ वर्गफिटमा बनेको छ। चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण भएको छ। फेवाताल किनारमा रहेकाले सो भवन पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।
भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पोखरा पर्यटकीय नगरी भएकाले भौतिक पूर्वाधार सम्पन्न सो भवनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सुरक्षा व्यवस्थालाई समेत प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित भई अपराध नियन्त्रणका लागि शून्य सहनशीलता अपनाउँदै प्रहरी सङ्गठनले काम गर्दै आएको उल्लेख गर्नुभयो।
प्रहरी महानिरीक्षक कुँवरले समाजमा हुने सबै प्रकारका विकृतिविरुद्ध प्रहरी सक्रिय भएर सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले जनचेतनामूलक कार्यक्रम ल्याएर अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रण गर्न पनि सामुदायिक प्रहरीको भूमिकालाई साझेदारीका साथ अगाडि लैजाने नेपाल प्रहरीको अवधारणा रहेको बताउनुभयो।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणि पाण्डे, पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जी.सी, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र दानबहादुर कार्की, प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, प्रहरी नायव उपरीक्षक ई.धुव्र अधिकारी, पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मालगायतले प्रहरी सेवा र शान्ति सुरक्षाका बारेमा बोल्नुभएको थियो।