निशा राई
धरान, मंसिर २० गते । गतसाल मात्र निर्माण सम्पन्न भई सुचारु भएको कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको विभिन्न स्थानमा भत्किन थालेको छ ।
सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरूको चर्को दबाब पछि गत वर्षदेखि मात्रै एकतर्फी सुचारु भएको र पछिल्लो समय दुवैतर्फ गरिएको भए पनि भत्किन सुरु भएको छ । धरानको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जङ्गल क्षेत्रका सडक भत्किन थालेपछि इन्जिनियरहरू सहित, कोशी प्रदेशको सांसद विजय कुमार राई, रमेश कुमार बस्नेत लगायतले अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा ११ ठाउँमा सडक भत्किएको थियो भने सडकमा प्राविधिक त्रुटिहरू व्यापक रहेको थियो । सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा विटविन(अलकत्रा) र डस्ट(ढुङ्गाको धुलो) कम भएको वा तापक्रम नमिलाइएकोले भएको अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोले बताउनुभयो । सडकको पिच उकिएको र मसिना मसिहना टुक्रा उडेको अवस्था छ अब यसलाई सच्याउनका लागि ठुला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नु पर्ने उहाँले बताउनुभयो ।
अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले गम्भीर कमजोरी भएको र यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनुपर्नेमा त्यसो नहुँदा यस्तो लापरबाही भएको इन्जिनियर डी क्षेत्रीले बताउनुभयो ।
कोशी राजमार्गको सडकको मोटाई १ सय एमएम हो अहिले बिछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइ समेत कम रहेको र हाल रहेको ६ं० एमएमको (डिभिएम) मै सडकको पिच भत्किनु गम्भीर त्रुटि रहेको अनुगमनको क्रममा इन्जिनियरहरूले जानकारी दिनुभएको छ । अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भए पनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउने समेत उहाँहरूले बताउनुभयो ।
सडक डिभिजन कार्यालय विराटनगरका डिइ राजेन्द्र साहले प्राविधिक कमजोरी भएको हो भनी अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राईसँगको कुराकानीमा बताउनुभयो । “यो मानवीय त्रुटि भयो हामी सच्याउँछौँ, पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच बिछ्याइएकाले यो त्रुटि भएको हो हामीलाई सुधार्ने मौका दिनुपर्छ,” डिइ साहले भन्नुभयो ।
प्यासिफिक हिमदुङ्गा जेबी, काठमाडौँ मुख्य ठेकेदार कम्पनी रहेको भए पनि पानीपीया सेउती पुलसम्मको काम भने मल्ल कन्स्ट्रक्सनले गरिरहेको छ । पिच गरे लगतै हेभी सवारीहरू छाडिदिएकाले पिच भत्किएको बताउँदै प्राविधिक रूपमा बलियो हुनेगरी सुधार गरिने र काम गर्दै जाँदा कमी भएकामा सच्याइने मल्ल कन्स्ट्रक्सनका प्रमुख प्रेम मल्लले बताउनुभयो । साइड इन्जिनियर अर्जुन साहले जनताको गुनासो आउन नदिने गरी सडकलाई निर्माण गर्ने बताउनुभयो ।
सडकको कोर कटिङ गरेर ल्याब परीक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नु पर्ने कोशी प्रदेशको सांसद बस्नेतले बताउनुभयो । जनसरोकारका यस्ता गम्भीर विषयहरूमा सरोकारी पालिका र जनप्रतिनिधिहरूको समेत सहभागितामा पिचको काम गर्नु पर्ने सांसद राईले बताउनुभयो ।
अनुगमनमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, धरान १८ को वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) लगायतहरुको उपस्थिति रहेको थियो ।