घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), मङ्सिर २० गते । कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
पाँच वर्षपहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आउनुभएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमिनबाट धेरै आम्दानी लिन थाल्नुभएको हो । उहाँले अहिले पाँच कट्ठामा लगाएको हरियो खुर्सानीको आम्दानी लिइरहनुभएको छ ।
हरियो खुर्सानीबाट मात्र उहाँले वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “एक सयदेखि दुई सयसम्म प्रतिकिलोका दरले हाटबजारमा नै मेरो खुर्सानी खपत हुन्छ । पहिला पहिला व्यापारीलाई दिँदा खासै फाइदा हुन्थेन । हाटबजार लाग्न थालेपछि आफैँले बेच्ने गरेपछि फाइदा राम्रै हुने गरेको छ ।”
चौधरीले तीन/चार थरीका खुर्सानी हाटबजारमा बेच्न राख्नुहुन्छ । बढी पिरो, कम पिरो र स्वादको मात्र गरी विभिन्न थरीका खुर्सानी ग्राहकले आफ्नो स्वाद अनुसार लैजाने गरेको उहाँ बताउनुहुन्छ । उहाँले हप्तामा गौरीगङ्गा नगरपालिकाको मसुरिया, सुखड र बर्दगोरिया गाउँपालिकाको बौनियामा लाग्ने हाटबजारमा खुर्सानी बेच्ने गरेको बताउनुभयो ।
बर्सातको समयमा खुर्सानीले राम्रै मूल्य पाएको बताउँदै उहाँले दुई सयदेखि २५० रुपियाँसम्म प्रतिकिलोका दरले बेचेको बताउनुभयो । एक सिजनमा १५ क्विन्टलसम्म हरियो खुर्सानी फलाएर बेच्ने गरेको चौधरीको भनाइ थियो ।
खुर्सानीसँगै उहाँको बारीमा टमाटर, फूलगोभी पनि बेच्नका लागि तयार हुँदै छ । चौधरीले व्यावसायिक तरकारी खेती गरेपछि उहाँको घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तरकारी खेतीकै आम्दानीले एउटा छोरो भारतमा इन्जिनियर पढ्दै छ, अर्को प्रहरीमा जागिरे छ ।” सरकारबाट कुनै अनुदान नलिएको बताउने उहाँले सरकारले दिने अनुदान किसानका लागि नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी जस्ता किसानलाई अनुदान लिने फुर्सद हुँदैन, सरकारी अनुदानका लागि के के प्रक्रिया गर्नु पर्छ, त्यो समयमा हामी तरकारी लाउनमै व्यस्त हुन्छौँ । किसानका नाममा फुर्सद भएका मानिसले कागज मिलाएर अनुदान खान्छन् ।”