• ८ पुस २०८१, सोमबार

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

blog

नेकपा (माओवादी केन्द्र) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गर्नुहुँदै प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिका पदाधिकारी । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं, मङ्सिर १९ गते । नेकपा (माओवादी केन्द्र)को प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अस्ट्रेलिया शाखाले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अस्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिनुभयो । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापना माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि बेलैमा पहलकदमी लिएर सङ्कट व्यवस्थापनको नेतृत्व गरेको बताउनुभयो ।

विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै उहाँले अहिले लाखौं युवाहरु प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरु लाग्नुपर्ने बताउनुभयो ।

देश सधैँ एउटै अवस्थामा नरहने र विस्तारै युवाहरु विदेशिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा निरन्तर अघि बढ्ने बताउनुभयो ।