नवराज श्रेष्ठ
रामेछाप, पुस ७ गते । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले यो मुलुकको विकासका लागि वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएको अध्यक्ष ढुङ्गेलले मुलुकका ठुला राजनीतिक पार्टीहरू नेपाली काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारभन्दा अर्को कुनै पनि विकल्प नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले नेपालका मूलधारका दुई प्रमुख दलहरू एमाले र काँग्रेस मिलेर सरकार बनाएका छन् । यो सरकार पनि बदलिनु पर्ने अवस्था भयो भने नेपालको लोकतान्त्रिक अभ्यासको अर्को विकल्प छैन । यो कुरा प्राक्टिस भइसकेको छ । यही सरकारले मुलुकको दिगो विकास गर्छ । यसमा कुनै शङ्का छैन ।”
अहिलेको सरकार सरकारका लागि सरकार नबनेर काम गर्नका लागि बनेको उहाँको भनाइ छ । मुलुकको विकासका लागि वर्तमान सरकार अन्तिम विकल्प भएको थाहा पाएपछि अहिले अराजकतावादीहरू सरकारको बदनाम गर्न सक्रिय बनेको उहाँले बताउनुभयो । अहिले काँग्रेस एमालेको गठबन्धन भए पनि अराजकतावादीले विभिन्न माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गरिरहेको अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।
उहाँले भन्नुभयो “यो सरकारको विकल्प नदेखेपछि सरकारलाई छरपस्ट पार्न अराजकतावादीहरू लागेका छन् । यस्ता अराजकतावादीहरूले नेपाल श्रीलङ्का, बङ्गलादेश बन्छ भन्दै हल्ला गरिरहेका छन् । विशेषगरी काँग्रेस र एमालेको सरकार छ । प्रधानमन्त्री ओली हुनुहुन्छ । अराजकतावादीहरूले प्रधानमन्त्री ओलीमाथि प्रहार गरिरहेका छन् ।”