• ८ पुस २०८१, सोमबार

शौचालय जाँदा लडेर एक जनाको मृत्यु

blog


अनिल पराजुली
हेटौँडा, मङ्सिर १९ गते ।
हेटौँडा उपमहानगरपालिका–६ मा शौचालय जाँदा लडेर एक युवकको मृत्यु भएको छ । हेटौँडा–६  कल्यानटार बस्ने अन्दाजी २८ वर्षीय उद्धव राईको मङ्गलबार साँझ लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर अचानक लडेर बेहोस भई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको बकैयामा एक मजदुर लडेर गम्भीर घाइते हुनुभएको छ । बकैया–४ अजिंगरेमा घरको एकतला माथिबाट खसेर भारत रक्सौल घर भएका  ३५ वर्षीय विकासकुमार गम्भीर घाइते हुनुभएको हो ।

उहाँको टाउको र छातीमा गम्भिर चोट लागेका छ भने हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ  पठाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।