• ७ पुस २०८१, आइतबार

प्रधान न्यायाधीशको आरोप

‘बिचौलिया कानुन व्यवसायीको समीपमा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले कतिपय कानुन व्यवसायीको समीपमा बिचौलिया रहेको आरोप लगाउनुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधान न्यायाधीश राउतले यस्तो आरोप लगाउनुभएको हो । 

प्रधान न्यायाधीश राउतले कसुर गर्ने न्यायाधीश, कर्मचारी जो कोहीलाई पनि कानुन अनुसार कारबाही हुने बताउनुभयो । काठमाडौँ जिल्ला अदालतमा मात्र दिनरात दुई/तीन सय बिचौलिया जाग्ने गरेको र उनीहरू कानुन व्यवसायीको समीपमा रहेको आरोप प्रधान न्यायाधीश राउतले लगाउनुभएको हो । 

राउतले भन्नुभयो, “खास खास मान्छे छन्, यहाँ अब एक्सनमा जानु पर्छ, यसमा कुरै छैन । मान्छेहरूको लर्को छ । काठमाडौँ जिल्ला अदालतमा दिनमा सात हजार जान्छन् । तीन/चार हजार मानिस तारिख लिन जान्छन्, दुई/तीन सय बिचौलिया दिनरात जाग्ने । तपाईंहरू सुन्नूस्, बडो विचार गरेर सुन्नूस्, मैले बडो गम्भीर कुरा गर्र्दै छु, कानुन व्यवसायीको समीपमा ती बिचौलिया छन् ।”

राउतले न्यायालयको पक्षमा बारले अझै योगदान दिनुपर्ने बताउनुभयो । बारले अहिलेसम्म अथाह योगदान गरे पनि कमी भएको राउतको भनाइ थियो । विकृति, विसङ्गति र अनियमितता र भ्रष्टाचारले आक्रान्त भएको मुलुकमा त्यसको असर सबैतिर पर्ने प्रधान न्यायाधीश राउतको भनाइ थियो । न्यायालय सुधारका लागि बार र बेन्चबिच सहकार्य आवश्यक रहेको पनि उहाँको भनाइ छ ।  

यसअघि न्यायाधीश नियुक्तिका लागि तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आफूले दबाब नै दिएको स्मरण गर्दै उहाँले बार र बेन्चबिचको दुरी घटाउनुपर्ने बताउनुभयो । बार बेन्चबिचको आपसी सम्बन्धलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधान न्यायाधीशका रूपमा संविधानको शपथ लिएपछि त्यसको पालना गर्नु र कर्तव्य पूरा गर्नु आफ्नो दायित्व भएको उहाँको भनाइ छ । 

न्यायाधीश नियुक्तिमा बारको भूमिका दोहोरो भएको पनि उहाँको भनाइ छ । न्यायाधीश नियुक्ति गर्न नसक्दा खै भन्ने र नियुक्तिको प्रक्रियामा प्रश्न गर्ने शैलीमाथि राउतले प्रश्न उठाउनुभयो । 

राउतले न्यायाधीशले न्याय दिन सक्नुपर्ने बताउँदै सञ्चारको प्रभावमा परेर, सडकको भीडमा परेर र शक्तिको पक्षमा न्याय दिन नहुने बताउनुभयो । सञ्चारको प्रभावमा न्यायपालिका पर्‍यो र न्यायाधीश पर्न गए बार टुलुटुलु हेरेर बस्न नमिल्ने उहाँको भनाइ थियो । न्यायाधीशमाथि मुर्दावाद र जिन्दावादको नारा लाग्दा बार र कानुन व्यवसायी बोल्नु पर्छ वा पर्र्दैन भन्ने प्रश्न पनि राउतले गर्नुभयो । केही दिनअघि सर्वोच्च परिसरको बोर्डमा कालो मसी छ्यापेको घटनामा बार र कानुन व्यवसायी मौन रहेको भन्दै प्रधान न्यायाधीश राउतले असन्तुष्टि जनाउनुभयो । 

उहाँले जिम्मेवारी एक ठाउँमा मात्र नभई दुवै पक्षमा हुनुपर्ने पनि धारणा राख्नुभयो । बारले उठाएका र ध्यानाकर्षण गराएका विषयमा आफू सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।