• ७ पुस २०८१, आइतबार

कांग्रेस योद्धा गुरुङको १०२ वर्षमा निधन

blog

स्व.दिलबहादुर गुरुङको शव यात्रा।

रमेश पौडेल 

पोखरा, मङ्सिर १८ गते। नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी ‘कांग्रेस बुढा’ दिल बहादुर गुरुङको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गुरुङको पार्थिव शरीरमा मंगलबार पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्दै शताब्दी पुरुष गुरुङ नेपाली कांग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रूपमा रहनुभएको स्मरण गर्नुभयो।

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यसमेत रहनुभएका गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो।

पर्वत जिल्ला साबिक आर्थरडाँडा घर पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं कांग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो। 

उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्यसमेत रहेर काम गर्नुभएको थियो। २०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो। अहिले कुस्मा नगरपालिका वडा नं १४ मा पर्दछ। गुरुङ नेपाली कांग्रेस पर्वत जिल्ला आर्थरडाँडाखर्कको संस्थापक एवं नेपाली कांग्रेस पर्वतको सदस्य भएर काम गर्नुभएको थियो।

राजनीति चेतना भएमात्र हरेक क्षेत्रको विकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लाग्नुभएका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रूपमा चिनिनुभएको कुस्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो। 

स्व.गुरुङले पञ्चकोशी मा.विलगायत अन्य विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्‍याउनुभएको थियो। शताब्दी पुरुष गुरुङको शवयात्रामा पञ्चकोशी समाज, आर्थरडाँडाखर्क, विभिन्न तमु समाज, पोखरामा बसोबास गर्ने पर्वतबासी, कांग्रेस पर्वतका नेता, कास्की कांग्रेसका नेता तथा अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ता, छिमेकी र आफन्तजनहरूको बाक्लो सहभागिता रहेको थियो। उहाँका एक श्रीमती, ३ छोरा, ३ बुहारी, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाति र ३ पनातिनी हुनुहुन्छ।