शेरबहादुर सार्की
बाजुरा, मङ्सिर १८ गते । बाजुराको पूर्वी उत्तरमा पर्ने बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका भेडीगोठ धमाधम औल झर्न थालेका छन् । मङ्सिरको पहिलो साता देखिनै यहाँको हिमाली भेगमा निकै चिसो बढेसँगै अहिले ती भेँडीगोठ बिस्तारै औल बेँसी झर्न थालेका हुन् ।
चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयाममा तातो बढेसँगै फेरि ती भेडीगोठ लेकमा सार्ने चलन छ । यहाँको पूर्वी क्षेत्रमा रहेका भेडापालक स्थानीयहरूको यो चलन पहिलेको पुस्ता देखि अहिलेसम्म उस्तै रहेको छ ।
चिसो समय यहाँका अधिकांश ठाउँमा हिमपात हुने गर्छ । भेडाबाख्राले खाने कुरा सबै हिउँले परिन्छ । यहाँ भेडालाई त्यतीबेला चरिचरन गर्न समस्या हुने भएपछि भेडीगोठ औल सार्ने गरेको बुढीनन्दा नगरपालिका स्थानीय प्रमीला गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँदको महिना औल (बेँसी) तिर तातो हुने भएकोले यहाँका भेडीगोठलाई त्यहाँ चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना त्यहाँ गर्मी हुने भएकोले त्यति बेला फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गर्दछौँ ।”
पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल सार्ने गर्थे । उनीहरूले तल्लो क्षेत्रका बुढीङ्गगा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँ घरमा नुन तेल चामल बिक्री गर्ने गर्थे । अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य सामाग्री अहिले गाडीले घरमै पुगाई दिन्छ ।
अहिले हामीलाई व्यवसायको लागि नभई खाली भेडाबाख्रा पालन पोषण गर्न लागि मात्र यी भेडीगोठलाई औल तिर लिने गरेको गुरुङले बताउनुभयो । जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयको भेडापालन पेसालाई पुर्खौली पेसाको रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेँडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गर्थे ।
उनीहरूले भेडामा दैनिक उपभोग्य सामाग्री ढुवानी गरी यहाँका अधिकांश गाउँ बस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ ।
यती मात्र होइन अहिले यहाँका भेडापाकललाई भेडापालन गर्न समेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रा पालनमा यो सङ्कट आएको हो ।
भेडाबाख्रा चरिचनर नगर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नु पर्ने अवस्था आएको छ ।
यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दाबढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताउनुभयो ।
यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । यो भन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतीबेला कमी आएको छ ।
यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएको कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताउनुभयो ।