• १२ पुस २०८१, शुक्रबार

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

blog

जिल्ला प्रशासन कार्यालयमा थन्किएका राष्ट्रिय परिचयपत्र । तस्बिर : अमरराज नहर्की

तनहुँ समाचारदाता

तनहुँ, मङ्सिर १८ गते । तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण पालिकाबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा सेवाग्राहीको सहजताका लागि पालिकाबाटै वितरण गरिने भएको हो । 

जिल्ला प्रशासन कार्यालयमा रहेका राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकामा पठाई पालिकाबाटै वितरण गर्ने कार्यका लागि पूर्वतयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो । यस कार्य व्यवस्थापनका लागि हाल परिचयपत्र वितरण कार्य स्थगित गरिएको छ । कार्यालयमा आएका परिचयपत्र अधिकांशले लगेका छैनन् । लिन नआउँदा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति बिदेसिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले जानकारी दिनुभयो । नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको गरेको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् । 

परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको थियो । परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनुपर्ने भएकाले अधिकांशले नलगेको उहाँले बताउनुभयो । परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने पण्डितले बताउनुभयो । 

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुन्छ । पण्डितले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र लिन आउन पनि स्वयम् व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनु पर्छ फाराम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएका छन् ।”