• ७ पुस २०८१, आइतबार

‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । 

नेपालमा क्रियाशील विकास साझेदारका प्रतिनिधिसँग सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले साख मूल्याङ्कनको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएकाले यसबाट निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढ्ने र बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री पौडेलले दुई ठुला राजनीतिक दलको सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनुभयो । यसका लागि विकास साझेदारको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाइने उहाँले जानकारी गराउनुभयो । 

“सरकार गठन भएसँगै मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ । मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ,” उहाँले भन्नुभयो, “चालु आवमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ ।”

सरकारले पूर्वाधार विकास, मानव संसाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको पनि उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । चालु खाता सन्तुलन, विद्युत् निर्यातमा उत्साहजनक वृद्धि, विपे्रषणमा वृद्धिलगायत कारणले अर्थतन्त्र सुदृढीकरणमा योगदान पुगे पनि निर्यातलाई विविधीकरण गर्दै विस्तार गर्न आवश्यक भइसकेको उहाँको धारणा थियो । 

पछिल्ला वर्षमा पुँजीगत खर्च कम भएकाले सार्वजनिक लगानीमा अपेक्षित सुधार हुन नसकेकाले आयोजनाको गुणस्तर सुधारमा सरकारले प्राथमिकतासाथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनुपर्ने अवस्था नरहेकाले दिगो बनाई राख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि उपप्रधानमन्त्री पौडेलले बताउनुभयो । त्यस क्रममा उहाँले नयाँ विकास सहायता परिचालन नीतिको मसौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालनसम्बन्धी नयाँ कानुन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । 

सरकारले सार्वजनिक लगानीमा र हरित अर्थ व्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलमा विकास साझेदारसँग सहकार्य गर्न सरकार उत्सुक भएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्न उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा विकास साझेदारका प्रतिनिधिले नेपालको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताउँदै क्रेटिड रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षण गरेको बताएका थिए ।