• ७ पुस २०८१, आइतबार

अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गर्नुपर्ने : राष्ट्रपति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर १८ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्नुपर्नेसमेत बताउनुभयो ।

अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म भएको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै अवसरमा समान पहुँच स्थापित गर्न आवश्यक छ ।” राष्ट्रपति पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, निजी संरचना अपाङ्गतामैत्री निर्माण गरी आवतजावतमा सुविधा पुर्‍याउनुपर्ने बताउनुभयो ।