• ८ पुस २०८१, सोमबार

गोरखामा व्यावसायिक कफी खेती

blog

गोरखाको वारपाका सुलीकोट गाउँपालिकाभित्रका सबै वडामा सुरु गरिएको व्यावसायिक कफी खेती । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १७ गते ।
गोरखाको वारपाका सुलीकोट गाउँपालिकाभित्रका सबै वडामा व्यावसायिक कफी खेती सुरु गरिएको छ । पालिकाभित्रका कफी खेती गर्न रुचाउने किसानहरुलाई कृषक समूह बनाई कफी खेती सुरु गरिएको वारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषकलाई व्यावसायिक रुपमा अघि बढाउन गत जेठ ६ गते चार पक्षबिच सम्झौता भएको थियो । जसमा प्रथम पक्ष फ्रेसको हिमालय प्राइभेट लिमिटेड, दोस्रो पक्ष कृषक समूह, तेस्राे पक्ष गाउँपालिका र चौथो पक्ष एकीकरण नेपालबिच कफी खेतीका लागि १० वर्षको सम्झौता भएको उहाँले बताउनुभयो ।

सम्झौतामा उल्लेख भए बमोजिम कृषक समूहले उत्पादन गरेको कफी फ्रेसको हिमालयन कम्पनीले तोकिएको मूल्यमा खरिद गरी १५ दिनभित्र कृषककोे खातामा हाल्नुपर्ने सम्झौता भएको छ । कफी खेती सेपिलो ठाउँमा राम्रो हुने भएकाले पनि वारपाक सुलीकोट गाउँपालिका कफी खेतीका लागि उपयुक्त क्षेत्र भएको कृष विज्ञ जय बुढाको भनाइ छ ।

अहिले गाउँपालिकाले कफी खेतीलाई उत्पादनमूलक तथा दिगो बनाउन छहारी हुने सदाबहार घाँसका बिरुवा उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले उत्पादनका आधारमा कृषकला आर्थिक अनुदान दिने गाउँपालिकाको नीति अनुसार नै अघि बढेकाे गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले कफी खेती गर्ने कृषकलाई आवश्याकताको आधारमा सिँचाइ र मलमा अनुदान दिनेछ, अध्यक्ष भट्टले भन्नुभयो, “कृषकको मिहिनेत हेरी कसैको मुख वा राजनीतिक दल हेरी अनुदान दिने अन्त्य गरेका छौं, जसले वास्तबिक कृषकलाई हौसाला मिलोस् ।”

कृषकहरुले लगाएको कफी खेतीमा पात डढ्ने, किरा लाग्ने समस्या कफी कृषकको आवाजलाई गाउँपालिकाको कृषि शाखाबाट निःशुल्क त्यसको औषधी उपचार गरिने कृषि शाखा प्रमुख जय बुढाले बताउनुभयो ।

वारपाक सुलीकोट गाउँपालिका – ३ स्वाँराका कफी किसान चन्द्रमाया तमाङले लगाएको बोट असाध्यै राम्रो भएकाले पनि जसरी बाबु नानीको स्याहार गरिन्छ ठीक त्यसरी नै कफीको स्याहार गर्दा चाँडै फल दिएर राम्रो आम्दानी लिन सक्ने विश्वास लिनुभएको छ ।

अहिले वारपाक सुलीकोट गाउँपालिकाका कृषकहरुले निकै उत्साहका साथ नौ वटा कृषक समूह बनाई ८ वटा वडाको दुई सय १६ जना किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् । एकीकरण नेपालले गाउँपालिकालाई १७ हजार बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा १७ हजार कफीका बिरूवाबाट उत्पादन भयो भने कफी कृषकलाई राम्रो आम्दानीको स्रोत बन्ने गाउँपालिकाले विश्वास लिएको छ ।