• ८ पुस २०८१, सोमबार

एचआइभी एड्सबाट आठ जनाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर १७ गते । नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा १४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुरबाहिरका व्यक्ति हुन् ।

गत कात्तिक मसान्तसम्म एआरटी (एन्टी रेट्रो भाइरल) सेन्टर चोरमारामा १४४ जनालाई एचआइभी सङ्क्रमण लागेको विवरण दर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै मध्यविन्दु नगरपालिकामा ४८ जना सङ्क्रमित छन् । त्यसै गरी कावासोती नगरपालिकामा ३४, हुप्सेकोट गाउँपालिकामा १४, विनयीत्रिवेणीमा १०, देवचुलीमा दुई र गैँडाकोटमा एक जनालाई एचआइभी सङ्क्रमण देखिएको छ । 

त्यस्तै स्थायी ठेगाना चितवन लेखाएका चार, पाल्पाका चार, रुपन्देहीका तीन र तनहुँका एक जनामा पनि सङ्क्रमण देखिएको छ । प्राविधिक निरीक्षक तिवारीका अनुसार आफ्नो जिल्लामा परीक्षण गर्दा गोपनीयता भङ्ग हुने डरले अन्य जिल्लामा गएर परीक्षण गराउने गरिएको छ । सङ्क्रमितमध्ये ६३ जना पुरुष, ५६ महिला र दुई जना तेस्रो लिङ्गी छन् । नौ जना स्थानान्तरण भई अन्यत्र गइसकेका छन् । छ जनाले औषधी सेवन गर्न छोडेका छन् । अहिलेसम्म सात पुरुष र एक महिला गरी आठ जनाको एचआइभी सङ्क्रमणबाट मृत्यु भएको तिवारीले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा पत्ता लगेका १२ जना सङ्क्रमितमध्ये दुई जना १५ वर्षमुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको गत असारसम्मको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा दुई हजार ८२५ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ४२६ जना सङ्क्रमित छन् । त्यस्तै स्याङ्जामा ३८०, तनहुँमा २५९, गोरखामा २३०, बागलुङमा १८८, लमजुङमा १२२, म्याग्दीमा ९२ र पर्वतमा ८० जना सङ्क्रमित छन् । 

तिवारीका अनुसार भारतसँगको खुला सिमाना, वैदेशिक रोजगारीबाट फर्केका, ड्रग्स र सुई प्रयोगकर्ता, तेस्रो लिङ्गी र पुरुष पुरुषबिच यौनसम्पर्क गर्नेहरूमा सङ्क्रमण महामारीका रूपमा देखिएको छ तर सामान्य मानिसमा भने यो सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०३० को अन्त्यसम्म विश्वमा आठ करोड ८४ लाख मानिस सङ्क्रमित भएका छन् भने चार करोड २३ लाखले ज्यान गुमाएका छन् । सन् २०२३ मा मात्र विश्वभर १३ लाख सङ्क्रमित भएका छन् । डब्लुएचओका अनुसार विश्वमा हरेक दिन तीन हजार छ सय नयाँ सङ्क्रमित थपिइरहेका छन् ।