• ८ पुस २०८१, सोमबार

गति लियो सडक निर्माणले

blog

बुुटवल–नारायणगढ सडकको वर्तमान अवस्था ।

होमराज रानाभाट 

कावासोती (नवलपरासी), मङ्सिर १७ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकले निर्माणको गति लिन नसक्दा जताततैबाट विरोध भएपछि कामले गति लिन थालेको छ ।  गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि ठेकेदार पक्षले आइतबारदेखि सडक निर्माणलाई गति दिन थालेको आयोजनाले जनाएको छ । ३६ महिनामा काम सक्ने गरी ठेक्का लिएको चाइनिज कम्पनीले ६६ महिना हुँदा पनि कामको गति नबढाए छाडेपछि स्थानीयसमेत ठेकेदारविरुद्ध उत्रेको सञ्जय श्रेष्ठले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको पछिल्लो बैठकले ठेकेदार पक्षसँगको छलफलमा अहिलेसम्म भएका कार्यले समयमै सडक बन्न नसक्ने अवस्था आएकाले अब रातिमा पनि सडक निर्माणको कार्य थालनी गर्ने र सोका लागि जनशक्तिको व्यापक परिचालन गर्नेसहमति भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । ठेकेदार पक्षले पटक पटक चौबिसै घण्टा काम गर्ने सहमति गरे पनि सहमति कार्यन्वयनमा आउन नसकेको आयोजनाका ठेकेदार पक्षका इन्जिनियर राकेश झाले बताउनुभयो । यो आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको र अब द्रुत गतिमा निर्माणको काम अगाडि बढाइने बुटवल–नारायणगढ सडकखण्डका प्रमुख समीक्षा घिमिरेले बताउनुभयो ।