चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङमा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो ।
जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिन आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन आइतबारदेखि सुरु भएको हो । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित नेपाल विद्युत प्राधिकारणको १३२ केभिए क्षमताको अमरपुर सब–स्टेशनमार्फत आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान (समाहित) गरिएको छ ।
सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत् अमरपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएसँगै आयोजनाको उत्पादन औपचारिक रुपमा सुरु भएको जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार एक साता अवधिसम्मको परीक्षण सफल भएपछि सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् आइतबार राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिएको हो ।
आयोजनाको काम सम्पन्न भएपछि गत आइतबारदेखि उत्पादित विद्युतको परीक्षण सुरु गरिएको थियो । नेपाल विद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम जाँच तथा निरीक्षण सम्पन्न गरेर सुपर काबेलीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युतगृह रहेको याम्फुदिन रातेखोलाबाट अमरपुर सब–स्टेशनको दूरी ३१ किलोमिटर छ ।
वि.सं २०७९ मङ्सिर अन्तिम सातादेखि आयोजनाको काम सुरु गरेको निर्माण कम्पनीले छोटो अवधिमै निर्माण सम्पन्न गरेको हो । आयोजना निर्माण सम्पन्न गर्नलाई करिव दुई अर्ब ६३ करोड २९ लाख रुपियाँ खर्च भएको प्रवर्धक कम्पनीले जनाएको छ । यता सुपर काबेली ‘ए’ आयोजना सम्पन्न भएसँगै ताप्लेजुङमा विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ ।
हालसम्म उत्पादन सुरु भइसकेको सबैभन्दा आयोजना ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजना छ । उक्त आयोजना सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वमित्वमा २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजना छ ।
रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजना छ । त्यस्तै, विद्युत् उत्पादन भइसकेको आयोजनामा ९.७ मेगावाट क्षमताको माथिल्लो इँवाखोला जलविद्युत् आयोजना हो । यी दुवै आयोजना ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादन गरिएकाे हाे ।
यसैगरी, पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा दुईवटा आयोजना छन् । युनिटेक हाइड्रोपावर कम्पनीको स्वमित्वमा रहेको ५.८ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको ५ मेगावाट क्षमताको फावाखोला जलविद्युत आयोजना हुन् । उक्त उत्पादन सुरु भइसकेका बाहेक जिल्लाभित्र डेढ दर्जन बढी सङ्ख्यामा जलविद्युत् आयोजना निर्माण हुँदै आएका छन् ।