• ८ पुस २०८१, सोमबार

गोरखामा ५९ प्रतिशत मत खस्यो

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १६ गते । गोरखा नगरपालिका-५ मा मतदान जारी छ । उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ५९ प्रतिशत मत खसेको हो । 

दुवै मतदान स्थलमा बिहान ८ बजेसम्म मतदाताको उपस्थिति बाक्लो नभएपनि ९ बजेबाट मतदाताहरू मतदान स्थलमा बाक्लो उपस्थिति देखिएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो ३ बजे सम्म शिव शक्ति आधारभूत विद्यालयको क बुथमा ४४८ मत, सोही बुथको ख मा ४२८ मत र गोरखाकाली आधारभूत विद्यालय स्वाँरामा बुथमा ४३७ मत गरी जम्मा १३ सय १३ मत खसेको उहाँले बताउनुभयो। 

गोरखा नगरपालिका–५ मा जम्मा २ हजार २ सय २५ जना मतदाताहरू मध्ये शिवशक्ति आधारभूत विद्यालयको दुई वटा बुथमा १ हजार ५ सय मत रहेको छ भने गोरखाकाली आधारभूत विद्यालयको केन्द्रमा ७ सय २४ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अहिले मतदाताहरू लाइन बसेर मतदान गरिरहेका छन् । अहिलेसम्म पनि मतदाताहरू उत्साह पूर्वक मतदान गर्न लाइनमा बसिरहेकाले पनि बेलुका ५ बजेसम्म झन्डै ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट भाईकाजी आले, नेकपा एमालेबाट दुर्गा राना, नेकपा माओवादी केन्द्रबाट विष्णु राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट मङ्गल थापा लगायतका उम्मेदारहरु रहेका छन् । 

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष खिल बहादुर रानाको २०७९ तिहार भाइटिकाको दिन निधन भएकाले उक्त रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।