• ८ पुस २०८१, सोमबार

बुद्धिचालको उपाधि विवेकलाई

blog

बुद्धिचाल प्रतियोगितामा सहभागी हुँदै कालीगण्डकी ४ का विवेक पाण्डे (दाँयाबाट दोस्रो, पहिलो कालो टोपी लगाउने पाण्डेका सहयोगी ) ।

राधाकृष्ण डुम्रे 

वालिङ, मङ्सिर १६ गते । कालीगण्डकी गाउँपालिका–४ का विवेक पाण्डे पालिका स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा उत्कृष्ट हुनु भएको छ । शारीरिक रुपले फरक क्षमताका विवेक लगातार दोस्रो पटक प्रथम हुनुभएको हो । 

‘कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव’मा विवेकले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हुनुभएको हो । विवेक राम्रोसँग बोल्न सक्नु हुन्न भने हात पनि चल्दैन । बुद्धिको प्रयोग गर्न सिपालु विवेक गत वर्षको खेलकुद महोत्सवमा पनि पहिलो हुनु भएको थियो । गाउँपालिकाले आयोजना गरेको महोत्सवमा बुद्धिचाललाई पनि समावेश गरिएपछि विवेकको क्षमताको चर्चा हुँदै आएको छ । 

विवेकले सहयोगीको साथमा कुशलता पुर्वक बुद्धिचालका गोटि चालेर अन्य प्रतिस्पर्धीलाई पछि पार्नुभएको हो । सानैदेखि बुद्धिचालमा रुचि राख्ने विवेक फुर्सदको समयमा घरमै अनलाइन बुद्धिचाल खेल्दै आएको बताउनुहुन्छ । नाकको सहायताले मोवाईल चलाउने विवेक कहिले पनि विद्यालय नगएको बताउनुभयो । उहाँले चेस सम्बन्धी अध्ययनका साथै अङ्ग्रेजी तथा नेपाली उपन्यासहरु पढ्ने गरेको परिवारले जनाएको छ । 

जन्मजात अपाङ्गता भएका विवेकले शेयरको कारोवार समेत नाकले नै मोवाइल चलाएर अनि खुट्टाले ल्यापटप चलाएर गर्दै आउनुभएको छ । प्रतियोगितामा वडास्तरीय प्रतियोगिताबाट छानिएका सात जनाको सहभागिता रहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । 

शुक्रबार मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्नु भएको खेल महोत्सव सोमबार सकिँदैछ ।