गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १६ गते । कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलका उम्मेदवारविच मुख्य प्रतिस्पर्धा रहेको नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
मतदान अधिकृत इन्दिरा कार्कीले दिनुभएको जानकारीअनुसार नगर प्रमुख र वडा १ र वडा ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् । वडा नम्बर १ मा ९ जना र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उहाँको भनाइ छ ।
तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जन र वडा ४ का अध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि ती पद खाली भएका थिए । सो पदको पूर्ति गर्न आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा निर्वाचन आयोगले कडाइ गरेको छ ।