स्याङ्जा समाचारदाता
स्याङ्जा, मङ्सिर १६ गते । पुतलीबजार नगरपालिका–५ मा शनिबार मोटरेबल पुलको शिलान्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्री केसीले काम गर्ने ठाउँमा बजेटको अभाव नहुने बताउनुभयो । पुल निर्माणसँगै सिदार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यस सडकको बाँकी कालोपत्रेका लागि बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
पहुँचको आधारमा नभई विधि र प्रक्रिया अनुसार अबको वर्षबाट बजेट विनियोजन हुनेमा उहाँले जोड दिनुभयो । विधिभन्दा बाहिरबाट आएका केही योजनालाई काँटछाट गरिएको उहाँले बताउनुभयो । पूर्वमन्त्री सीताकुमारी सुन्दासले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गत वैशाख १७ गते राङखोला सिद्धबाबा निर्माण सेवाले आगामी साउन ६ गते पुलको निर्माण सक्ने गरी सम्झौता गरेको हो । एक स्पानको १५.६ मिटर लम्बाइ रहेको आरसिसी टी बिम पुल एक करोड ८६ लाख ९२ हजार रुपियाँमा निर्माण हुने बताइएको छ ।