• ९ पुस २०८१, मङ्गलबार

फेवाताल मिचेको रिसोर्टको पर्खाल भत्काइयो

blog

फेवाताल मिचेको वाटर फ्रन्ट रिपोर्टको पर्खाल भत्काउँदै । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, मङ्सिर १६ गते । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता, कार्यकर्ताले पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रन्ट रिसोर्टको पर्खाल भत्काएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता, कार्यकर्ताले शनिवार साँझ कर्ण शाक्यको रिसोर्टको पर्खालको केही भाग भत्काएका हुन् । 

फेवाताल किनारबाट ६५ मिटरको मापदण्डभित्र पर्ने होटेलको पर्खाल नेकपा कास्की जिल्ला इन्चार्ज सुजन आयाम र सेक्रेटरी अनवरतको नेतृत्वमा गएको टोलीले भत्काएको हो । सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वका सहजीकरण समिति बनेको छ । 

समितिले बनाएको उपसमितिले तालको सीमाङ्कन गरी प्रतिवेदन बुझाए पनि काममा ढिलाइ भएको छ । नेकपा बहुमत कास्की इन्चार्ज सुजनले यसलाई साङ्केतिक कारबाही भन्दै फेवातालको मापदण्डका संरचना यथाशीघ्र हटाउन माग गर्नुभयो । 

“फेवातालको जग्गा अतिक्रमणका विरुद्ध साङ्केतिक कारबाही गरेका हौँ,” उहाँले भन्नुभयो, “सरकारले मापदण्ड कायम गर्ने आदेश कार्यान्वयन नगरे जनताले नै कार्यान्वयन गर्छन् ।” पर्खाल भत्काएपछि विज्ञप्ति निकालेर नेकपा बहुमतले यथाशीघ्र फेवालाई अतिक्रमण मुक्त बनाउन र फेवा शिरानमा जारी जग्गा पुर्ने क्रम बन्द गर्न माग गरेको छ । 

सर्वोच्चले २०८० असार ४ गते फेवातालको मापदण्ड ६५ नै कायम गर्दै छ महिनाभित्र मापदण्डभित्रका संरचना हटाउन आदेश दिएको थियो । यता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पर्खाल तोडफोडबारे जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।