लेखनाथ समाचारदाता
लेखनाथ (कास्की), मङ्सिर १६ गते । पोखराको खानेपानी सुधार आयोजना निर्माण सम्पन्न हुन लागेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको सो आयोजनाको खानेपानीमन्त्री प्रदीपकुमार यादवले शुक्रबार उद्घाटन गर्नुभयो ।
जाइकाले आयोजना निर्माण गरेर हस्तान्तरण गरेको छ भने नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम भने बाँकी छ । पोखरामा करिब १२ किलोमिटर टाढाको मर्दीखोलाको पानी ल्याएर नेपाल खानेपानी संस्थानले वितरण गर्ने गरेको छ । आयोजना निर्माण सम्पन्न भएपश्चात् पोखरामा सफा र शुद्ध पानी उपलब्ध हुने अपेक्षा उपभोक्ताको छ ।
पोखरामा करिब आठ करोड लिटर पानीको माग छ । आवश्यक थप पानी विभिन्न ठाउँमा बोरिङ र आसपासका खोलाबाट ल्याएर खानेपानी परिपूर्ति गर्ने योजना संस्थानको छ ।
मर्दी खोलाको पानीलाई शुद्ध गर्न मर्दीको मुहाननजिकै चार करोड २० लाख लिटर क्षमताका चार वटा बालुवा हटाउने ट्याङ्की बनाइएको छ । चार वटा पानी थिग्राउने ट्याङ्की पनि निर्माण भएका छन् । पोखरा १९ पुरुन्चौरमा दैनिक चार करोड १० लाख लिटर क्षमताका छ वटा पानी छान्ने फिल्टर बनाइएको छ ।
९३० घनमिटरका दुई सफा पानी सङ्कलन ट्याङ्कीसमेत बनाइएको छ । पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ । उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी २० इन्चको पाइपबाट पोखरा–२, विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट पोखरा १६ लामाचौरको अमलाविसौनीमा रहेको संस्थानको पुरानै ट्याङ्कीमा पठाइने छ ।
करिब साढे चार अर्ब लागतको यो खानेपानी आयोजना मेलम्चीपछि देशको दोस्रो ठुलो रहेको बताइएको छ । मर्दीमा प्रशोधन प्लान्ट बनेपछि पोखरामा आउने पानीमा पहिलेभन्दा ८० प्रतिशत हिलो, माटो कम भइसकेको आयोजना प्रमुख इन्जिनियर आशिष कार्कीको भनाइ छ ।
खानेपानी भण्डारण गर्न २० लाख लिटरका तीन वटा ट्याङ्की निर्माण गर्ने योजना थियो । फूलबारी र पस्र्याङमा ठूला ट्याङ्की बनिसकेका छन् भने कोलपाटनमा बन्दै गरेको ट्याङ्कीको काम भने रोकिएको छ । यो ट्याङ्की नबन्दा पोखराका चार वडाको खानेपानी वितरण प्रभावित हुने जोखिम छ ।
जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) ले नेपाल सरकारलाई अनुदानमा बनाइदिएको यो आयोजनाको रकम खानेपानी संस्थानले भने ऋणका रूपमा सरकारलाई तिर्नु पर्छ । २०७६ जेठ २८ मा शिलान्यास भएको यो आयोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।
मर्दीको खानेपानी मुहानभन्दा माथि अहिले पनि खोलाबाटै गाडी वारपार गर्छन् । गाईवस्तु आहाल बस्ने, फोहोरसमेत फाल्ने गरिएको यो क्षेत्रमा हिउँदमा नदीजन्य पदार्थ उत्खननसमेत हुन्छ । खानेपानीको गुणस्तर सुधार्न मुहान सार्न, आवश्यक सुरक्षाका उपाय अपनाउन सरोकारवालाले आवाज उठाइरहेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा छ स्थानमा शव दहन स्थल बनाएपछि खोलैमा शव दहन भने रोकिएको छ । यता मुहान रहेको स्थानको माछापुच्छ«े गाउँपालिकाले पानी प्रयोगबापत निश्चित राजस्व पाउनुपर्ने माग राख्दै आएको छ ।