अर्जुन काफ्ले
स्याङ्जा, मङसिर १५ गते । पुतलीबजार नगरपालिका वडा–१३ र अर्जुनचौपारी गाउँपालिका वडा–१ जोड्ने ठाडाखेतमा मोटरेवल पुल निर्माण गरिएको छ । पुलको सर्वे २०७० साल पुस ५ गते भएको थियो भने २०७४ भदौ २३ गते निर्माण कम्पनीले सम्झौता गरेर काम थालेको थियो ।
बक्स कल्भर्ट जेएन ईश्वर, सिद्धबाबा जेभीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँ ३५ पैसामा निर्माण गरेको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो । ७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ । एक भागमा चार मिटर अग्ला पाँचवटा सेल र अर्को भागमा २.८ मिटर अग्ला सातवटा सेल रहेका छन् ।
पुतलीबजार नगरपालिका –१३ मा कल्भर्टको उद्घाटनमा सङ्घीय सांसद राजु थापाले पुलको उद्घाटन ढिला भएको बताउँदै यसले अझै पनि आम नागरिकमा भएको चेतनाको स्तरलाई परीक्षण गरिरहेको बताउनुभयो ।
अरू देशको तुलनामा नेपालमा कम विकास भएको बताउँदै थापाले फेरि पनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भइरहेको विकास निर्माणमा गति दिन सबै एकजुट हुनुपर्ने बताउनुभयो । पञ्चायतका ३० वर्षमाभन्दा बहुदल र सङ्घीयता आएपछि विकासले गति लिएको बताउँदै उहाँले नागरिकको शिक्षा स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको जिकिर गर्नुभयो ।
देश निर्माणमा स्थायी सरकार आवश्यक रहेको बताउँदै पटक पटक सरकार फेरिरहँदा विकासले राम्रो गति नलिएको बताउनुभयो । देशको विकासका लागि एमाले र काँग्रेसको सहकार्यमा सरकार बनेको र यसले विकासमा फड्को मार्ने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी वडा –१ का रणबहादुर थापा, पुतलीबजार वडा –१३ का कार्यवाहक अध्यक्ष सूर्यबहादुर थापालगायतले मन्तव्य राख्नु भएको थियो ।
यहाँका नागरिकको माग र आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकास कार्यालय स्याङ्जाले यहाँ पुल बनाएको हो । पुल बनेपश्चात् यसको प्रयोगमार्फत दुईपालिका दुई वडाका नागरिकको आवत–जावत तथा कृषि सामग्री ओसारपसारमा सहज भएको छ ।