• ९ पुस २०८१, मङ्गलबार

कालीगण्डकीमा खुल्यो आँखा उपचार केन्द्र

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ कालीगण्डकीमा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रको अवलोकन गर्नुहुँदै । तस्बिर :राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर १५ गते । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३ मिर्मीमा नगर अस्पतालमा केन्द्र सञ्चलनमा ल्याएको हो ।

गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । स्थानीयस्तरमा खुलेको उपचार केन्द्रबाट स्याङ्जाको कालीगण्डकी र गल्याङ नगरपालिकासँगै गुल्मीको पूर्वी भेग, पर्वतका दक्षिणी भेग र बाग्लुङको जैमिनी नगरपालिकाका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष थापाको भनाइ छ ।

यसअघि आँखा उपचारका लागि वालिङ तथा जिल्ला बाहिर जानु पर्ने बाध्यतामा रहेका कालीगण्डकी क्षेत्रका नागरिकलाई सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको आँखा उपचार गाउँमा नै गर्ने यस क्षेत्रका नागरिकको चाहना पूरा भएको छ ।”

आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष तथा नेत्र ज्योति सङ्घ कास्कीका सभापति सुरेन्द्र थापामगर र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले शुक्रबार नै सम्झौता गर्नु भएको हो ।

सम्झौता अनुसार केन्द्रका लागि आवश्यक पर्ने उपकरण तथा औजारहरू हिमालय आँखा अस्पतालले उपलब्ध गराउने छ भने कर्मचारीको व्यवस्था गाउँपालिकाले गर्नेछ ।

उपचार केन्द्रमा आएका मोतियाबिन्दु लगायतका बिरामीका लागि पोखरामा उपचार गर्न केन्द्रले सहजीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो ।

आँखा उपचार केन्द्रको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नु भएको हो ।