काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा अहिले जनकपुर बोट्ल्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ । जनकपुरले फिल्डिङ रोजेपछि विराटनगर पहिले ब्याटिङ गर्दैछ ।
जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख हुनुहुन्छ ।टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह रहनुभएको छ ।
टोलीमा स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसकार, शेर मल्ल र हेमन्त धामी रहनुभएको छ ।
जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ ।
जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मूलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक टोलीमा अनुबन्ध हुनुहुन्छ । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ ।
यस्तै विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने हुनुहुन्छ । विश्वभरका फ्रेन्चाइज लिगको अनुभव बटुलेका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ टोलीमा हुनुहुन्छ ।
विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम हुनुहुन्छ । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन हुनुहुन्छ ।