• ११ पुस २०८१, बिहिबार

राष्ट्रिय परिचयपत्र पालिकाबाटै वितरण हुने

blog

जिल्ला प्रशासन कार्यालयमा थन्किएका राष्ट्रिय परिचयपत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १५ गते । 
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण कार्य पालिकाबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा सेवाग्राहीको सहजकताका लागि पालिकाबाटै वितरण गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा रहेका राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकमा पठाई पालिकाबाटै वितरण गर्ने कार्यका लागि पूर्व तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस कार्य व्यवस्थापनका लागि हाल परिचयपत्र वितरण कार्य स्थगित गरिएको छ । कार्यालयमा आएका  परिचयपत्र अधिकांशले लगेका छैनन् । लिन नआउँदा  चाली हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।

राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति बिदेसिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले जानकारी दिनुभयो । नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको गरेको पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् । परिचय पत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको थियो । परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनु पर्ने भएकाले अधिकांशले नलगेको उहाँले बताउनुभयो ।

परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने पण्डितले बताउनुभयो ।

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुन्छ । पण्डितले भन्नुभयो, ‘‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयम् व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएका छन् ।’’

राष्ट्रिय परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरेको कार्यालयले जनाएको छ । दर्ता सहयोगी जमुना श्रेष्ठका अनुसार चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र लिन आएका छैनन् । उहाँका अनुसार तयारी राष्ट्रिय परिचयपत्र लिनका लागि दिनमा मुस्किलले २५देखि ३० जना आउने गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार सात सय एक जनाले नयाँ दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले राष्ट्रिय परिचयपत्र लगेका छन् । श्रेष्ठले भन्नुभयो, ‘‘साँघुरो एक कोठा मात्रै छ लिन अपनाउँदा राख्नको लागि समस्या भएको छ ।’’ २०७६ सालमा बनाएका पनि अधिकांश लिन नआएको उहाँले जानकारी दिनुभयो ।