• ११ पुस २०८१, बिहिबार

‘ध्यानले सर्वव्यापी चेतनासँग जोड्छ’

blog

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ध्यान योग शिविरमा ।

कास्की समाचारदाता 

कास्की, मङ्सिर १५ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा शुक्रबार पोखरामा आयोजित ध्यान योग शिविरमा उहाँले यस्तो बताउनुभएको हो । 

प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आज मानिस अशान्ति, तनाव, अहङ्कार जस्ता रोगबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ । योग भनेको जोड हो । ध्यानका लागि कुनै रकम खर्च गर्नु पनि पर्दैन । सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ ।”

सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुनेमा जोड दिँदै भट्टले आयुर्वेदका अनुसार जहाँ शरीर, मन, आत्मा र पर्यावरणबिच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो जीवनको मुक्ति साधना हो । साधनाबिना कुनै पनि क्षेत्रको सफलता सम्भव छैन । सफलताका लागि कर्म गर्नु पर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।” 

यस संस्थाको आयोजनामा हिमालयमा तपस्या गर्नुभएका ऋषिमुनिका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गर्नुभएका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रूपमा नेपाल सरकारले नियुक्त गरेको थियो । ४५ वर्षअघि श्री पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गर्नुभएका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गर्नुभएको थियो । उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणका लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।